काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही आगामी प्रतिनिधिसभा चुनावमा जुम्लाबाट उठ्ने भएका छन् । आफ्नो जन्मभूमिको दुधको भारा तिर्न र मलाई जन्माउने आमा र हुर्काउने जन्मभूमिको भारा तिर्न म जुम्लाबाट उम्मेदवारी घोषणा गर्दछु,’ शाहीले उम्मेदवारी घोषणा गर्दै भने,‘मलाई जिताउने वा हराउने मेरा दाजु–भाइका हातमा छ।’

पार्टीका नेता कार्यकर्ताले आफूलाई देशका विभिन्न क्षेत्रबाट चुनाव लड्न आग्रह गरे पनि सोमबार काठमाडौंमा एक कार्यक्रममा शाहीले जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा उठ्ने घोषणा गरेका हुन् ।
कुनै पनि दलविरुद्ध आफ्नो उम्मेदवारी नभई जुम्लाको आर्थिक स्तर उकास्नका लागि र आफ्नो जन्मथलो जुम्ला भएकोले आफूले जुम्ला रोजेको शाहीले बताए । शाहीको उम्मदेवारी घोषणा कार्यक्रममा सहभागी हुन जुम्लाबाट विभिन्न नेताहरु आएका थिए ।