अर्को महिनाबाट शुरु हुने अष्ट्रेलिषको चर्चित क्रिकेट प्रतियोगिता बिग ब्यास लिग टि२० मा नेपाली लेग स्पिनर सन्दीप लामीछाने नयाँ क्लबबाट खेल्न लागेका छन् । यस अघिका दुई प्रतियोगितामा सन्दीपले मेलबर्न स्टार्सबाट खेलेका थिए ।
मेलबर्न स्टार्ससँगको सम्झौता सकिएको र सम्झौता नविकरण नभएकोले उनले नयाँ क्लब सँग सम्झौता गर्न लागेका हुन् । सन्दीपको व्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिष्ट रमन शिवाकोटीले पनि सन्दीपले नयाँ टोलीबाट बिग ब्यास लिग खेल्ने बताएका छन् । तर टोली भने अझै टुङ्गो लागेको छैन ।
नयाँ टोलीसँगको सम्झौता भने अन्तिम चरणमा पुगेको र केहि दिनमा सार्वजनिक हुन सक्ने बुझिएको छ । ‘कुन टोलीबाट खेल्ने अझै निश्चित भएको छैन । मेलबर्न स्टार्सबाट यो सिजन हुँदैन । अरुनै टोलीबाट हुने भएकोले पनि समय लागेको हो । अन्य टोलीमा कुरा भइरहेको छ । त्यसको लागि समय मिलाई रहेका छौं । फाइनल भने अझै भएको छैन । यो हप्ता सम्म सम्झौता हुनसक्छ’, शिवाकोटीले जानकरी दिए ।
सन्दीपले सन् २०१८ मा स्टार्सबाट ८ खेलमा ११ विकेट लिएका थिए । सन् २०१९ मा १३ खेलमा १५ विकेट लिएका छन् । मेलबर्न स्टार्स बाहेक अन्य टोलीले विदेशी खेलाडीको सम्झौता नविकरण र नयाँ खेलाडी अनुबन्ध थालि सकेका छन् ।
यस सिजनमा सन्दीपले होबार्ट हुरिकेन्स, सिड्नी थन्डर, सिड्नी स्कर्चर्स र पर्थ स्कोचर्स मध्य एक टोलीबाट खेल्ने सम्भावना देखिन्छ । हालसम्म एडिलेड स्टकर्सले अफगानिस्तानका राशिद खानँगको सम्झौंता नविकरण गरेको छ । त्यस्तै ब्रिसबेन हिटले अफगानिस्तानकै युवा स्पिनर मुजिब उर रहमान, इंग्ल्यान्डका टम ब्यान्टन, लुईस ग्रेगरीलाई अनुबन्ध गर्दा दक्षिण अफ्रिका एबी डि भिलियर्सलाई फुकुवा गरेको छ ।
होबार्ट हुरिकेन्सले इंग्ल्यान्डका डेविड मलानलाई अनुबन्ध गरिसकेको छ । मेलबर्न रेनेगेड्सले अफगानिस्तानका नुर अहमद, अलराउन्डर मोहम्मद नाबी र दक्षिण अफ्रिका अनुभवी स्पिनर इमरान ताहिरलाई टोलीमा अनुबन्ध गरेको छ । मेलबर्न स्टार्सले भने विदेशी खेलाडी हालसम्म अनुबन्ध गरेको छैन ।
पर्थ स्कर्चर्सले इंग्ल्यान्डका लियाम लिभिङस्टोन र जेसन रोयलाई अनुबन्ध गरेको छ । सिड्नी सिक्सर्सले इंग्ल्यान्डका टम करन र जेम्स भिन्सलाई अनुबन्ध गरेको छ । सिड्नी थन्डरले न्युजिल्यान्डका एडम मिल्ने र इंग्ल्यान्डका एलेक्स हक्सलाई टोलीमा समेटेको छ ।
यसअघिका दुबै संस्करणमा सन्दीपले पूरै खेल भने खेल्न पाएका थिएनन् ।
नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता जुधेको हुँदा उनले पूरै खेल खेल्न पाएका थिएनन् । यस पटक पनि उक्त समस्या दोहोरिने सम्भावना देखिन्छ । नेपालको अन्तर्राष्ट्रिय खेल जनवरी २०२१ मा हुने सम्भावना रहेकाले पनि बिग ब्यासमा सन्दीपले पूरा समय खेल्न नपाउन सक्छन् । अघिल्लो सिजन स्टार्सका लागि लिग चरणमा पूरा खेलेका सन्दीप प्लेअफ र फाइनलमा भने उपस्थित हुन सकेका थिएनन् । यसपटक बिग ब्यास ३ डिसेम्बर २०२० देखि ६ फेब्रुअरी २०२१ सम्म हुने तालिका छ ।
सन्दीप हाल संयुक्त अरव इमिरेट्स (यूएई) मा इन्डियन प्रिमियर लिग (आइपिएल) २०२० मा दिल्ली क्यापिटल्सको टोलीमा रहेका छन् । लिग चरणका पूरै खेलमा सन्दीपले दिल्लीको बेन्चमै बिताएका छन् ।