पिएस्पी चाम्लिङ्ग राई

धनी बुवा

म सानो छँदा
बुवा सबसे बहादुर हुनुहुन्थ्यो,
म सानो छँदा
बुवा बहुत धनी हुनुहुन्थ्यो,
हो
फलानो साहुले बुवा लाई बेस्मारी हकार्नु र बुवा चुप लाग्नु या
मलाई कहिल्यै एकजोर जुत्ता किनिदिन नसक्नु आफ्नै ठाँउमा छ।

साउनको उर्लदो टुवाखोला नडराई एक्लै तर्नु र
अधिया खेत जोत्नु जोतिनु
एक्लैले रहरलाग्दो अन्न फलाउनु
र नलोभिई साहु सङ्ग आधा आधा बाँड्नु,
हिउँदमा सबसे बढी सुन्तला बेसाएर ल्याउनु
सबसे बढी, कस्स्सैले उचाल्नै नसक्ने गरि।।अनि
बेल्टारमा सुन्तला बेचेर सुन्तला चकलेट,सख्खर,चिउरा,नुन, मट्टितेल बोकेर पाँच दिनमै मध्यरात एक्लै घर आईपुग्नु
नडराई मध्यरात, पाँच दिनमै।।।
म सानो छदाँ बुवा संसारकै सबसे बहादुर मान्छे हुनुहुन्थ्यो
कहिल्यै नथाक्ने नहार्ने (जिन्दगीको योद्धा हो)

कहिले कहिले अबेर राती
आमा संग सुक्क सुक्क खुसुक्क सुक्सुकाउनु आफ्नै ठाँउमा छ

बुवासंग
एउटा सेकेण्डह्याण्ड रेडियो हुनु
करङ्ग भाँचिएको एउटा छाँता हुनु
रोउँ रोउँ बनाउने गीत गाउने संसारकै सुन्दर बाँसुरी हुनु।।।
भदौमा अनिकाल लाग्नु
तर मेरो पेट कहिल्यै भोको नहुनु।।।
आमालाई बर्सै पिच्छे एकजोर लुङ्गी,चोली
मलाई हरेक दशैँमा एकजोर प्याण्ट, सर्टसंगै
संसारकै सबसे ज्यादा खुसि किन्न सक्नु।।।
एक हल आफ्नै गोरु
एउटा हलो
कोदालो, मेरा कलिला खित्काहरु
आमाका तृप्त मुस्कानहरु।।।
बस
संसारकै सबसे धनी मान्छेमा हुनुपर्ने पर्याप्त प्रमाण थियो बुवा सङ्ग, म सानो छदाँ
हो बुवाले जहिल्यै फाटेको टोपी लाउनुभो त्यो आफ्नै ठाउँमा छ।

बुवा कत्ती बहादुर हुनुहुन्थ्यो
बुवा कत्ती धनी हुनुहुन्थ्यो
आज म आफै बुवा भएपछी मात्र थाहा पाएकोछु।।।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

5 × 4 =