नेकपा एमाले निकटको मजदुर संगठन फुटपाथ खाली गर्ने काठमाडौं महानगरपालिकाको विरोधमा उत्रिएको छ ।एमालेको मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को घटक संगठन नेपाल स्वरोजगार व्यापार श्रमिक संघले बिहीबार काठमाडौं महानगरपालिका कार्यालय बाहिर प्रदर्शन गरेको छ । व्यापार गर्न खाली ठाउँ तोकिदिनुपर्ने र त्यो नभएसम्म विहान बेलुकाको फुटपाथमै व्यापार गर्न दिनुपर्ने माग गर्दै संघले ज्ञापनपत्र बुझाएको छ । नेपाल ट्रेड युनियन महासंघ जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले स्वरोजगार श्रमिक संघ जिफन्टको घटक संगठन रहेको र उनीहरुको आन्दोलनमा समर्थन रहेको बताए । उनले मेयर बालेन साहको फुटपाथ व्यापार हटाउने अभियानलाई सही भन्न नसकिने बताए । ‘हेर्दा मेयरको अभियान विरुद्ध देखिन्छ, उहाँको काम टोटल्ली रङ छ पनि भन्दैनौं, सही पनि होइन’ श्रेष्ठले अनलाइनखबरसँग भने ।महानगरपालिकाका मेयर बालेन साहलाई ज्ञापनपत्र बुझाउन गएका संघका पदाधिकारीले बालेनलाई भेट्न नपाएपछि प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाए ।