छिमेकी भारतका सेना प्रमुख मनोज पाण्डेले ‘अग्निपथ’ योजनाअनुसार नेपालीहरू भारतीय सेनामा भर्ती नभए यसपालि उनीहरूलाई छुट्ट्याएको कोटा अरूलाई दिने बताएका छन्।बुधबार युनाइटेड सर्भिस इन्स्टिच्युसन अफ इन्डियाको कार्यक्रममा सोधिएको प्रश्नको जवाफमा पाण्डेले नेपालीका लागि छुट्ट्याइएको कोटा अरूलाई बाँडिने बताएको टाइम्स अफ इन्डियाले उल्लेख गरेको छ।‘मलाई मंसिर ४ को आमनिर्वाचन अघि नेपालले कुनै निर्णय गर्छजस्तो लाग्दैन,’ केही दिनअघि काठमाडौंमा नेपाली सेनाको मानार्थ महारथीको पदवी लिएका पाण्डेले भने,‘त्यसपछि पनि उनीहरूले निर्णय गरेनन् भने त्यो कोटा अरूलाई दिइन्छ।’आफूहरूले चार वर्षे अग्निपथ योजनाका फाइदाबारे नेपाली पक्षलाई बताइसकेको पाण्डेले बताए। ‘अब के गर्ने भन्ने निर्णय नेपालले गर्छ,’ पाण्डेले भने।केही वर्षअघि भारतले वार्षिक ४ हजारको हाराहारीमा नेपाली भर्ती गरिन्थ्यो। पछिल्ला वर्षहरूमा त्यो संख्या घटाएर १५ सयमा पुर्‍याइएको छ। भारतीय सेनामा अहिले ३० हजारको हाराहारीमा नेपालीहरू कार्यरत छन्।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

fourteen − nine =