पसलको भित्र अनि बाहिर पनि लटाई झुण्डिरहेका छन् । कागज अनि प्लास्टिको चङ्गा पनि । चङ्गा उडाउने धागो पनि छ । लटाई पनि धागो सहित तथा रहित छन् । अहिले पुनःनिर्माण हुँदै गरेको पाटनको भीमसेन मन्दिर तथा मङ्गलबजार ठूलो घण्टको दक्षिणमा रहेको सुनिलराज श्रेष्ठको यस पसलले दशैँको परम्परा धानिरहेको छ । अचेल बिरलै देखिने यस्ता पसलमा यो पसल भने नमुना बनेर उभिएको छ मङ्गलबजारमा । श्रेष्ठको यो पुस्तैनी व्यापार तथा पसल हो । उहाँका भाइहरु पनि पसल त गर्छन् तर यस्तै चङ्गाको पसल भने होइन । भाइहरुको किराना पसल छ । ‘आफ्नै घर भएको हुनाले मात्र यसरी चङ्गा, लटाई बेचेर बसेको नत्र भाडा तिरेर यस्तो ठाउँमा यो व्यापारले कहाँ बस्न सकिन्छ र,’ श्रेष्ठ भन्नुहुन्छ, ‘पहिलेदेखि बाउ, बाजेले गरेको काम छोराले छोड्यो भनेर भन्ला भनेर पनि यो काम गरिरहेको हो ।’ उहाँलाई आफूपछि यस पसललाई छोराहरुले निरन्तरता नदिनेमा चिन्ता पनि छ । उहाँ भन्नुहुन्छ, ‘यो मेरै लास्ट होला । छोराहरु त बस्दैन पसलमा ।’
पहिले पहिले उहाँको पसलमा नेपाली कागज, कपडा अनि चाइनिज चङ्गाहरु पनि हुन्थे । अहिले भने त्यस्ता चङ्गाहरु भने बिक्री नहुने भएर उहाँले राख्ने गर्नु भएको छैन । कपडाका चङ्गाहरु पहिले यहीँ बन्थे । उहाँ भन्नुहुन्छ, ‘त्यस्तो चङ्गा त्यो बेला नै ४ सय पर्थ्याे । गाडीमा आउने धनाढ्यहरुले मात्र त्यस्तो चङ्गा किन्थे । अहिले भने चीनबाट आउँछ ।’ ‘पहिले पहिले नेपाली कागजको पनि चङ्गा आउँथ्यो’ सुनिल भन्नुहुन्छ, ‘तर, अहिले नेपाली कागज महँगो भएर अरु चङ्गा ३५ रुपैयाँमा आउँछ भने त्यसको सय रुपैयाँ पर्छ । त्यही भएर नेपाली कागजको चङ्गा आउनै छोड्यो ।’ पहिले पहिले चङ्गा काठको बाकसमा आउँथ्यो र त्यति बिग्रेको हुँदैनथ्यो । तर, अहिले भने कागजको बाकसमा आउने हुनाले धेरै बिग्रेको हुने बताउनुहुन्छ श्रेष्ठ । उहाँ भन्नुहुन्छ, ‘अरुमा राम्रै नाफा छ । तर, चङ्गामा भने खास नाफा छैन । र, महँगो पनि छ । अहिले भन्सार दोब्बर लगाएको छ ।’ उहाँको पसलमा लटाईका किसिम भएजस्तै चङ्गा तथा धागोका पनि विभिन्न किसिम छन् । धागोमा ६ कोड, ९ कोड, १२ कोडका धागोहरु छन् । धागो अनुसार पैसा पनि फरक हुने भइहाल्यो । कुनै एक हजार मिटरको धागोलाई एक हजार २ सय रुपैयाँ पर्छ । कुनै ८ सय ९ सय मिटरको धागोको हेरीहेरी ८ सय, ९ सय अनि एक हजार रुपैयाँ पर्छ । उहाँ भन्नुहुन्छ, ‘मकहाँ ६ सय रुपैयाँदेखि दुई हजार रुपैयाँसम्मको धागो पाइन्छ ।’