गृहमन्त्री बालकृष्ण खाँणले गैरआवासीय नेपालीलाई नेपालको संविधानअनुसार नागरिकता दिलाउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) दिवसका अवसरमा संघद्वारा मंगलबार यहाँ आयोजित कार्यक्रममा उनले सरकारले नागरिकतासम्बन्धी विधेयक अघि बढाई दुवै सदनबाट दुई पटक पारित हुँदा पनि राष्ट्रपतिबाट प्रमाणीकरण हुन नसकेको जानकारी गराए ।
मन्त्री खाँणले नागरिकता विधेयक सबै दलको सहमतिमा कुनै पनि नेपाली नागरिक नागरिकताविहीन हुन नपरोस् र गैरआवासीय नेपालीले पनि संविधानअनुसार नागरिकता प्राप्त गरुन् भन्ने उद्देश्यले सरकारले ल्याएको स्पष्ट पारे ।
सो अवसरमा उनले गैरआवासीय नेपालीलाई विदेशमा आर्जन गरेको सीप, लगानी र पुँजी नेपालमा भित्र्याउनका लागि आह्वान गर्दै त्यसको सुरक्षा सरकरले गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा परराष्ट्र सचिव भरतराज पौड्यालले संघलाई सरकारले महत्वका साथ आत्मसात् गरेको उल्लेख गर्दै सरकारले नीति तथा कार्यक्रममा संघसँगको सहकार्य र संघको योगदानलाई परिचालन गर्ने उद्देश्य राखेको जानकारी गराए । उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले गैरआवासीय नेपालीले आफ्नो ज्ञान, सीप र पुँजी नेपालमा भित्र्याएर निजी क्षेत्रसँग गरेको सहकार्य प्रशंसनीय रहेको बताए ।