एमाले अध्यक्ष केपी शर्मा ओली मनोनयन दर्ता गर्न आइतबार मध्याह्न दमक नगरपालिका परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयभित्र प्रवेश गर्दा हल खचाखच थियो । बीचको कुसीमा ओली बसे । बायाँतर्फ झापा ५ (२) का उम्मेदवार होमबहादुर थापा बसे, दायाँतर्फको कुर्सीमा अधिवक्ता नारायण भट्टराई बसेका थिए । निर्वाचन कर्मचारी ओलीको मनोनयन दर्ताको काम गर्दै थिए । ओली दायाँबायाँ हेर्दै अचानक बोले, ‘मेयरसाप खोइ ? मेयरसापलाई बोलाऊ ।’ त्यसपछि नजिकैका एमाले नेता–कार्यकर्ताले ‘राम दाइ, राम दाइ’ भन्दै दमकका मेयर राम थापाको खोजी गरे । भीडमा अलमलिएका नगरप्रमुख राम थापा तत्काल ओलीनजिक पुगेर ‘अध्यक्षज्यू, म यहीं छु’ भनेर हाजिरी जनाए । थापालाई हेर्दै ओलीले मुसुक्क हाँस्दै आफूसँगैको कुर्सीमा बस्न आग्रह गरे तर नगरप्रमुख थापा कुर्सीमा बसेनन् । उनले झापा ५ (१) का एमाले उम्मेदवार हिक्मत कार्कीलाई बस्न दिए ।
नगरप्रमुख थापा राप्रपाका प्रदेश १ अध्यक्षसमेत हुन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले मनोनयन दर्ता गरेको निर्वाचन क्षेत्र झापा ५ हो । उक्त क्षेत्रबाट ओलीले २०४८ यता निरन्तर चुनाव लड्दै आएका छन् । २०६४ मा बाहेक सबै चुनाव जितेका छन् । एमालेका लागि झापामा चुनाव जित्न सजिलो क्षेत्रका रूपमा समेत हेरिन्छ क्षेत्र ५ लाई । राष्ट्रिय राजनीतिमा लगातार उचाइ भर्दै गएका ओली उम्मेदवार भएपछि एमालेलाई उक्त क्षेत्र थप सहज बन्दै गएको हो ।

यस पटक भने एमाले नेता–कार्यकर्ता मात्र होइन, स्वयं ओली पनि आफ्नो निर्वाचन क्षेत्रलाई ‘सहज’ मान्न तयार देखिँदैनन् । ६ महिनाअघिको स्थानीय चुनावको नतिजाबाट उनी झस्किएका छन् । उनलाई नेता–कार्यकर्ताको मात्र भर लाग्न छोडेको छ । स्थानीय चुनावपछि ओली लगातार आफ्नो निर्वाचन क्षेत्रमा आइरहेका छन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

11 + nine =