८ जेठ, काठमाडौं। रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर सोमबार जाउलाखेल लगिएको छ ।
दिउँसो ३ बजेर ४९ मिनेटमा लगनखेलबाट रथ तानिएको थियो । वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने गरिन्छ । जाउलाखेलमा राखिएको रथ भोटो देखाउने जात्रापछि बुंगमतीतर्फ लगिनेछ ।
रातो मच्छिन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रामध्येकै सबैभन्दा लामो हो। मच्छिन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर आषाढ शुक्ल चतुर्थी (दुई महिना) सम्म चल्छ । मच्छिन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ।
पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जाउलाखेलमा पुर्याएर भोटो देखाइन्छ।
यससँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ। पौराणिक कथन अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको सुरुवात गराइएको किंवदन्ती छ।



