काठमाडौं ।
संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच दुईबुँदे सहमति भएको छ । बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको बैठकमा दलहरुबीच दुई बुँदे सहमति भएको हो ।

बैठक पछि नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले दलहरुबीच प्रमुख २ वटा विषयमा सहमति भएको जानकारी दिए । उनले भने ‘ एउटा ब्रेक सुमा राखेर भएको सुनतस्करीको बारेमा केन्द्रीय अनुसन्धान व्युरोले छानविन गरिरहेको छ । उसलाई छानविन गर्न दिने र असोजको ५ गते उच्च स्तरीय छानविन आयोग गठन गर्ने र त्यसै दिन देखि आयोगले काम गर्ने छ । ’

बैठकपछि जारी गरिएको दुई बुँदे सहमतिमा भनिएको छ ‘ मिति २०८० साल श्रावण २ गते विदेशबाट अवैध ढंगले पैठारी (तस्करी) गरिएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर लगिरहेको अवस्थामा राजश्व अनुसन्धान विभागबाट पक्राउ परेको थियो । उक्त विषय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान, छानबिन गरिरहेको सर्वविदित्तै छ । केन्द्रीय अनुसन्धान ब्यूरोले निष्पक्ष अनुसन्धान, छानबिन गरी सुन तस्करीमा संलग्न व्यक्तिहरूलाई अभियोजन गर्नेछ । ’

यस्तै सहमतिमा ‘ विदेशबाट इलेक्ट्रिक सिगरेट ( भेप्समा) मा सुन राखी अवैध पैठारी (तस्करी) गरिएको, मिति २०० श्रावण २ गते ब्रेक–सुमा राखी अवैध पैठारी (तस्करी) गरिएको सुन लगायत पटक पटक सुन तस्करी भई मुलुक भित्र आइरहेको विषयलाई गम्भीरतापूर्वक लिई स्वतन्त्र र निष्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्ण रुपमा नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधार र पटक पटकको सुन तस्करी सम्बन्धमा भएका छानबिन अनुसन्धान बारे समेत अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम २००/०६/०५ गते नेपाल सरकारले आयोग गठन गरी त्यसै दिनदेखि आयोगले कार्य प्रारम्भ गर्ने’ उल्लेख पनि गरिएको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु उपस्थित थिए ।
उच्चस्तरीय आयोग गठनको माग गर्दै एमालेले १० साउन देखि संसद बैठक अवरुद्ध गर्दै आएको थियो । संसदको अर्को बैठक आजै ३ बजेका लागि बोलाइएको छ ।

 

Submit a Comment

Your email address will not be published. Required fields are marked *

3 × 3 =