काठमाडौं । नेपाली कांग्रेसले केही दिन यता धरानमा भएको द्वन्द्वप्रति गम्भीर चिन्ता प्रकट गरेको छ ।
सभापति शेरबहादुर देउवाको नाममा जारी विज्ञप्तिमा सामाजिक, धार्मिक, राजनैतिक समग्र सद्भावका लागि सार्वजनिक अपीलसमेत गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘ परापूर्व कालदेखि विभिन्न जात–जाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेका मात्रै होइनौं, राष्ट्र निर्माण र विकासका लागि हातेमालो गर्दै आएका छौ । नेपालको कानूनले हरेक ब्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपु¥याई आ–आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्न हुदैन । साथै कसैको धर्म, संस्कृति र परम्परा प्रति कसैले दख्खल पु¥याउन पनि उचित हुँदैन । ’
नेपालीको भावना र चाहना विपरित धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको पनि हितमा नहुने र हुन पनि नसक्ने भन्दै विज्ञप्तिमा भनिएको छ ‘ यसबाट उत्पन्न हुने धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने कुरामा दुई मत छैन । यसले निम्त्याउन सक्ने परिस्थिति बेलैमा अनुमान गरि हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनु आजको आवश्यकता हो । ’
विषयको संवेदनशीलतालाई मध्यनजर गर्दै राजनैतिक दल, स्थानीय जनप्रतिनिधि र धार्मिक संघ–संस्था एवं समाजका अग्रज ब्यक्तित्वहरू एक ठाउँमा उभिएर सबै जाति, धर्म एवं सम्प्रदायबीचको आपसी एकता र सद्भाव कायम राख्ने महान कार्यमा जुट्न पनि नेपाली कांग्रेस सबैलाई अपील गरेको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

eleven − six =