काठमाडौं ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले शनिबार राति करिब ९ बजे आक्रोशित हुँदै सामाजिक सञ्जालमा चेतावनीयुक्त भाषामा राखेको स्ट्याटस हटाएका छन्। मेयर शाहको फेसबुक पेजमा अहिले त्यो स्टाटस देखिँदैन। फेसबुकमा स्टाटस लुकाउन र हटाउन सकिने व्यवस्था छ। उनले शनिबार राति फेसबुकमा प्रचण्ड नेतृत्वको केन्द्र सरकारलाई चोर सरकार भन्दै आक्रोश प्रकट गरेका थिए।

उनले महानगरको कुनैपनि गाडी सरकारले रोके सत्ताको प्रशासनिक निकाय सिंहदरबारमा आगो लगाइदिने बताएका थिए। उनले फेसबुकमा भनेका थिए,’ “आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार। ‘

मेयर बालेनले त्यसरी पदीय मर्यादा नै भुलेर आक्रोशित हुँदै स्ट्याटस राख्नुको कारण भने महानगरपालिकाको गाडी प्रहरीले रोकिदिनु। शनिबार सार्वजनिक विदाको दिन महानगरको गाडी रोकेर सोधपुछ गर्नु ट्राफिक प्रहरी कार्यालयको कर्तव्य पनि हुन्छ। तर, त्यो गाडीचाहिँ बालेनपत्नी चढेको र अस्पताल जाने क्रममा रोकिएको ट्राफिक प्रहरीले समेत बताएको थियो । गर्भवती अवस्थामा अस्पताल जाँदै गरेकी पत्नीलाई रोकेपछि मेयर बालेन नभई पति बालेन भावनामा आएर उक्त प्रतिक्रिया दिएको देखिन्छ । तर, यो उनको पदिय मर्यादाभित्र पर्छ या पर्दैन भन्ने नयाँ बहस पनि सामाजिक संजालमा भईरहेको छ। त्यसैक्रममा मेयर बालेन शाहको सचिवालयले आइतबार साँझ विज्ञप्ति जारी गर्दै सार्वजनिक विदाको दिन चलाउने परमिट लिइएको भए पनि शनिबार साँझ ट्राफिकले रोक्दा उक्त परमिट गाडीमा नभएको स्वीकारेको छ। ‘शिशुलाई स्तनपान गराइ फर्किने क्रममा रातको करिब ९ बजे कोटेश्वरमा ट्राफिक प्रहरीहरू सवारी चेकजाँच गर्दै थिए। त्यस जाँचका क्रममा परेको हाम्रो सवारी साधनका विषयमा प्रहरीले सोधेको प्रश्नमा सवारी चालकले, विशेष परिस्थितिमा उक्त गाडी प्रयोग गर्नु परेको ब्यहोरा जानकारी गराए। सवारी चालकले आफ्नो परिचय पत्र देखाए, सार्वजनिक बिदाको दिन प्रयोग गर्न बनाइने परमिट भएको तर त्यस समय उक्त गाडीमा नबोकेको विषयसमेत अनुरोध गरे,’ विज्ञप्तिमा भनिएको छ,‘नगर प्रमुख सहितको परिचय खुलाएपश्चात् प्रहरीको व्यवहार झन् बढी आक्रामक हुन गएको थियो। प्रहरीले सामान्य मानवीय संवेदनशीलताको समेत कत्ति पनि ख्याल नराखी करिब ७ मिनेट गाडीलाई सडक किनारामा राख्न लगाई असान्दर्भिक र मनोमानी प्रश्न गरे।’

उक्त विज्ञप्ति लगत्तै मेयर बालेन पत्नी चढेको गाडी प्रहरीले सात मिनेटसम्म रोकेको भन्ने बालेनको भनाइलाई ट्राफिक प्रहरीले खण्डन गरेको छ । बालेनको सचिवालयले भनेजस्तो सात मिनेट गाडी रोकेको र अनावश्यक केरकार नगरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख डिआइजी पोषराज पोखरेलले बताए। मेयर पत्नी सवार गाडी जाँचको क्रममा तीस सेकेन्डदेखि बढीमा साढे १ मिनेटसम्म मात्रै रोकिएको दाबी पोखरेलले गरे। त्यसपछि मेयर बालेनको आलोचना र समर्थन दुवै भयो। उनले सिंहदरबारमा आगो लगाइदिने बिषय भने अलि बढी नै आलोचित भएको थियो। कतिपयले त उनलाई पक्राउ गरेर मुद्दा समेत चलाउनुपर्ने धारणा राखेका थिए। तर यस बिषयमा गृह मन्त्रालय भने अहिले सम्म चुपचाप रहेको छ। गृहका आधिकारिक व्यक्तिले कुनै पनि औपचारिक प्रतिक्रिया दिएका छैनन्।

सिंहदरबारसँग बालेनको यो विवाद भने नयाँ होइन। बालेन बेलामौका सिंहदरबारसँग आक्रोश पोखिरहेका हुन्छन। कहिले फोहोर नउठाइदिएर चुनौति दिने त सिंहदरबारका नेताहरुलाई सिसडोलमा डम्पिङ्ग गर्नुपर्ने भन्दै बिबादित अभिव्यक्ति दिदै आएका छन्। तर शनिबारको घटना भने व्यक्तिगत भावनालाई लिएर तत्काल प्रतिक्रिया दिन खोज्दा ठुलै बिबादमा परेका छन्। उनले ब्यक्त गरेको आक्रोश एक नगरपिताका रुपमा सोभनिय मानिँदैन। अन्तत: उनि आफै स्टाटस हटाउनुपर्ने स्थितिमा पुगे।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

1 × 4 =