काठमाडौं ।
नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कि आफैँ पद त्याग्न कि गृहमन्त्रीलाई हटाउने चेतावनी दिएका छन् । पार्टीका सह-महामन्त्री महेन्द्र यादव माथि भएको आक्रमण विरुद्ध काठमाडौंमा आयोजित प्रदर्शन पछिको कोण सभालाई सम्वोधन गर्दै गुरुङले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई तुरुन्तै बर्खास्त गर्न प्रधानमन्त्रीसँग माग गरेका हुन् । गृहमन्त्री नहटाउने भए आफैं हट्न उनको चेतावनी छ ।
उनले भने ‘पुष्पकमल दाहाल ज्यू, तपाईं सँग दुई विकल्प छ । तुरुन्त गृहमन्त्री लाई बर्खास्त गर्नुस, या तपाईं नै हट्नुस ।’ कांग्रेसको काँधमा बन्दुक राखेर माओवादीले अर्कै व्यवस्था ल्याउन खोजेको आशंका गरेका गुरुङले कांग्रेसले यो सरकारलाई बोकेर हिड्न नहुने तर्क गरे । उनले आफ्ना नेता माथिको आक्रमणमा सरकारकै सहभागिताको आशंका गरे ।
‘घटनाक्रम ले के देखाउँछ भने हत्याराले दायाँ बायाँ प्रहरीको सेक्युरिटीमा बसेर मिडियालाई अन्तरवर्ता दिने वातावरण कसले बनायो ? यो आक्रमणको पछाडि अहिलेको सरकार र गृह मन्त्रालयको कुनै न कुनै योजना छ भन्ने हामीलाई शंका लागेको छ । ’उनले भने ‘अब हामी यो सरकार लाई बोकेर अघि बढ्न सक्दैनौं । विशेष अवस्थामा माओवादीलाई सरकारको नेतृत्व दिएका थियौं । तर, माओवादी अहिले खाओवादी भएका छन् । राजावादी र माओवादी एउटै हुन् कि भन्ने हामीलाई लागिरहेको छ ।’उनले गृहमन्त्रीको राजीनामा नआए सम्म आन्दोलन नरोकिने चेतावनी दिए ।
‘अब हामी माथि हमला भएको टुलुटुलु हेर्न सक्दैन । देशै भरिका विद्यार्थी साथीहरु लाई यो संविधान र व्यवस्थाको सुरक्षा गर्न अर्को आन्दोलनका निम्ति तयार रहन आह्वान गर्छु । जबसम्म गृहमन्त्रीले राजीनामा दिनु हुन्न तब सम्म आन्दोलन जारी रहन्छ ।’