काठ्माण्डौ
अहिले प्रहरी चौकी, स्थानीय तह तथा सहकारी विभागमा भीड देखिन्छ । अधिंकाश बचतकर्ता सहकारीमा डुबेको आफ्नो रकम फिर्ता पाइन्छ कि भनेर यी ठाउँ धाइरहेका छन् । आफ्नै पैसाका कारण बचतकर्ता हरुले दुःख, हैरानी भोग्नु परिरहेको छ । मुलुकभर सञ्चालित सहकारीमध्ये ९५ प्रतिशत सहकारी डुबिसकेका छन् ।
यी सहकारी संस्था बचतकर्ताको रकम फिर्ता गर्न नसक्ने अवस्थामा पुगेका छन् । काठमाडौंको माइतीघर मण्डलामा सहकारी पीडितहरुले ६१ दिन सम्म आन्दोलन गरे । गत साउन १८ गते सरकारले सहकारी पीडितहरु सङ्ग सात बुँदे सहमति गप्यो । पीडितहरु खुशी हुदैँ आआफ्नो घर फर्किए ।
आफुहरुको डुबेको रकम सरकारले फिर्ता गर्ने भनेर उनीहरु मख्ख परे । गृहमन्त्री नारायणकाजी श्रेष्ठले माइतीघर मण्डलामै भनेका थिए, ‘सहकारीमा बचतकर्ताहरुले सरकारसँग सोधेर रकम राखेको हो र । अहिले आएर डुबेपछि सरकारसँग पैसा माग्न । हिजोे ब्याजको लोभमा पैसा राख्ने अनि डुबेपछि आन्दोलन गर्ने ।’
अहिले सहकारी पीडित बचतकर्ता महासंघ सघर्ष समितिले आफुहरुलाई माइतीघर मण्डलाबाट उठाउनका लागि मात्र सरकारले सात बुँदे सहमति गरेको कुरा थाहा पाइसकेको छ । आफुहरुको रकम फिर्ता नआउने महसुस उनीहरुले गर्न थालिसकेका छन् । आम नागरिकले ब्याजको प्रलोभनमा परेर बुढेसकालमा काम लाग्छ भनेर सहकारीमा लाखदेखि करोड रुपैयाँसम्म बचत गरे ।
कतिपयले त आफ्नो पुर्खौली सम्पत्ति बेचेर समेत सहकारीमा रकम जम्मा गरे । अहिले सहकारी विभागका रजिष्टार नवराज घिमिरेले सहकारीमा फसेको बचतकर्ताको रकम सरकारले फिर्ता नगर्ने स्पष्ट पारिसकेका छन् । सहकारीका सञ्चालकहरुको सम्पत्ति रोक्का गरी त्यँही बेचेर बचतकर्ताको रकम फिर्ता गरिने तर सरकारले बचतकर्ताको रकम फिर्ता नगर्ने उनले भनिसकेका छन् ।
आफु चर्चामा आउनका लागि केही राजनीतिक दलको सदस्यता लिएका व्यक्तिहरु समेत सहकारी पीडितसँग माइतीघर मण्डलामा अनशन बसे । यसरी अनशन बसेपछि आन्दोलनमा जनसमुदामयको सहभागिता बढाउन उनीहरुले सहकारीमा डुबेको आफुहरुले रकम सरकारले फिर्ता गर्नुपर्ने माग राख्न थाले ।
यता, सहकारी पीडितहरुले पनि आफ्नो रकम सरकारले फिर्ता गर्दैन भनेर बुझ्रन सकेन । यति कुरा पनि नबुझेपछि बचतकर्ताहरु सहकारीमा डुबेको आफुहरुको रकम सरकारले फिर्ता गर्छ भन्दै सडकमा उत्रिए। लाखौं बचतकर्ताहरु सडकमा उत्रिए पछि सरकारले आन्दोलन स्थगित गराउनका लागि सात बुँदे सहमति गर्यो।
सहमतिमा एक महिनाभित्रै सहकारी पीडितहरुको समस्या समाधान हुने उल्लेख छ । तर, अहिले दुई महिना हुन लाग्दा समेत सहकारी पीडितहरुको समस्या समाधान भएको छैन । बचतकर्ताहरुले आफ्नो रकम फिर्ता पाएका छैनन् त सरकार पनि केही पहल गरिरहेको छैन ।
अहिले राष्ट्रिय सहकारी महासंघ सहकारी संस्थाहरुले बचतकर्ताको दश खर्ब रकम फिर्ता गर्न बाँकी रहेको बताउँछ । तर, सहकारी पीडितहरु भने २३ खर्ब रकम फिर्ता गर्न बाँकी रहेको बताउँछन् । अनि कसको कुरा पत्याउने ? सहकारी विभागका अनुसार मुलुकभर ३५ हजारभन्दा बढी सहकारी दर्तामा छन् ।
तर, तीमध्ये कति सहकारीको दर्ता खारेज भए ? कति भागे ? कति डुबे ? र कति डुब्ने अवस्थामा छन् वा बचतकर्ताको रकम फिर्ता गरेका छैनन् ? यसको विवरण विभागसँग छैन । अहिले बूढादेखि भूरासम्मको रकम सहकारीमा डुबेको छ । आमाबुबाले बालबच्चा खाजा खान दिएको रकम र सरकारले ज्येष्ठ नागरिकलाई दिएको भत्ता सहकारीले नै खाइदिएको छ ।
सहकारीले नेतादेखि सरकारी कर्मचारी, सञ्चारकर्मी, व्यापारी सबैलाई ठगेको छ । यसरी सहकारी जनता ठग्न सफल हुनुमा मानिसहरु ब्याजको प्रलोभनमा पर्नु हो । ब्याज आउने लोभमा भएको घरजग्गा समेत बेचेर मानिसहरुले सहकारीमा रकम जम्मा गरे । अहिले उनीहरु घर न घाटको भएका छन् । बिचल्लीमा परेका छन् ।
करोडौं जनताको खर्बो रकम सहकारीले हाँसीहाँसी पचाइदिएको छ । सहकारीका सञ्चालक देखि कर्मचारी सम्मै चोर हुन् भनेर अहिले सबैले थाहा पाएका छन् । तर, सहकारी भागेपछि थाहा पाएर के गर्नु थियो र । बचतकर्ताले कुट्ने त्रासमा सहकारीका सञ्चालक, अध्यक्ष र कर्मचारीहरु लुकीलुकी हिँडेका छन् ।
कार्यालयको पोसाक उनीहरु लगाउँदैनन् त मुखमा मास्क लगाएर हिँड्छन् । अहिले जनता सबै सहकारीको लाइसेन्स खारेज गर्नुपर्ने बताउँछन् । सहकारीकै कारण करोडपति सडक पति हुनुपरेको छ । अब सहकारीमाथि जनता विश्वास गर्दैनन् । साथै, सहकारीको विरोधमा बचतकर्ताहरु फेरि सडकमा उत्रिने छन्।
सरकारले पनि बचतकर्ता हरुलाई सहकारीमा डुबेको उनीहरुको रकम सरकारले फिर्ता नगर्ने स्पष्ट पार्नुपर्छ । सहकारी भागेपछि नै अहिले बजारमा घरजग्गा, गाडी र सेयरको कारोबारमा मन्दी छाएको छ । दुई दशकअघि आनाको एक लाख पर्ने जग्गा सहकारीले ८० लाख पुप्याएको थियो ।
सय रुपैयाँ कित्ताको सेयर पाँच हजार रुपैयाँसम्म पुग्यो । दुई लाख पर्ने गाडी ५० लाख रुपैयाँमा समेत बिक्रीवितरण भयो । तर, सहकारी भागेपछि दुई दशक अगाडि कै रेटमा घरजग्गा, गाडी र सेयर पुगेको छ । यता, बैंक पनि यँही अवस्थामा पुगेको छ । बैंक डुब्छ भनेर अहिले अधिंकाशले थाहा पाइसकेका छन् ।
अहिले बजारमा सुनिन्छ कि बैंकले उठाउनुपर्ने छ दुई करोड तर धितो बेच्दा आउँछ एक करोड । अहिले बैंकले तानेको गाडी र लिलाम गरेको घरजग्गा र सेयर किन्ने कोही छैन । जसले गर्दा बैंकमा रहेको बचतकर्ताको रकम जोखिममा परेको छ । सरकारले पनि समयमै जनतालाई ब्याजको प्रलोभनमा बैंक तथा वित्तिय संस्थामा धेरै रकम राख्न सचेत नगराउँदा आज यो अवस्था आउँदैन थियो ।
सहकारी भाग्दा जनताको रकम डुब्यो अनि बैंक डुब्दा पनि त जनताकै रकम त डुब्ने हो नि । जताबाट पनि जनता नै डुब्नेछन् । तापनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले घरजग्गा, गाडी र सेयरको मूल्य बढ्ने र अर्थतन्त्र पहिलाकै लयमा फर्किने भनेर जनतालाई भ्रममा पारिरहेका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई अर्थको विषयमा केही ज्ञान छैन । उनलाई जनतालाई कसरी भ्रममा पार्ने भनेर मात्र थाहा छ । अहिले देशको अर्थतन्त्र दिनप्रति दिन नाजुक हुदैँ गएको छ । बजार मन्दीमा छ । जताततै निराशा छाएको छ । मन्दीका कारण व्यापारी आत्महत्या गरिरहेका छन् । जनता लुटपाट, ठगी, हत्या हिंसामा संलग्न भएका छन् ।
तर, प्रधानमन्त्री प्रचण्ड भने टलक्क टलक्ने कोट, दउरा सुरुवाल गराएर सोह्र वर्षे ठिटोजस्तै भएर हिँडेका छन् । हिजो जनयुद्धमा १७ हजार नेपाली नागरिक मरेका छन् । जनताका छोराछोरी मरेका हुन् । कसैको आमा गुम्यो त कसैको बुबा । तर, प्रचण्डको केही पनि गुमेन ।
अहिले पनि सहकारीमा डुबेको रकम जनताको नै हो । त्यसैले उनलाई केही चासो छैन । प्रचण्डले हिजो पनि केही गुमाएनन् र आज पनि केही गुमाएका छैनन् । जनता भने जताबाट पनि पीडित नै भएका छन् ।
एकातिर सहकारीले रकम खाइदिएको छ, अर्कातिर मन्दीले आत्महत्या गर्न बाध्य बनाइरहेको छ । जहाँ पनि सिधासाधी जनता नै फस्ने हुन् । प्रचण्डजस्ता चतुरहरु सिधासाधीलाई झप्याङ बनाएर आफु सत्तामा पुग्छन् । र, यो क्रम बढ्दो छ । अहिले जनता महंगी, बेरोजगारी र गरिबीका कारण भोकभोकै सुत्छन् ।
च्यातिएको कपडा लगाउँछन् त नाङ्गा खुट्टा हिँड्छन् । केपी ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाल, बाबुराम भट्टराई, झलनाथ खनाल उमेरले ६८ कटिसकेका छन् । तर, जनताले तिरेको कर खाएर भर्खरका सोह्र वर्षे ठिटोजसरी हिँडेका छन् । खानपिन, उपचारको अभाव तथा टेन्सनका कारण अहिले २५/३० वर्षका युवायुवतीहरु ४०/५० वर्षका देखिन्छन् । उनीहरु लुगा समेत फोहोर र च्यातिएको लगाएर हिँड्छन् । भोकै खाली खुट्टा हिँड्छन् । तर, राजनीतिक दलका नेताहरु भने छिनछिनमा कपडा फेर्छन् । घण्टा नबित्दै विभिन्न परिकार बनाएर खान्छन् । त्यसैले, अब जनता नेताहरुको विरोधमा उत्रिन ढिलो भइसकेको छ ।
अहिले पनि राजनीतिक पार्टीको झोला बोक्ने र आफ्नो संगठनको कार्यक्रम भएको ठाउँमा गएर ताली बजाउने काम मात्र जनताबाट भइरहेको छ । अब जनतामा चेतना आउन जरुरी छ । नेताहरुको झुट्टा आश्वासन र कुरामा जनता फस्नु हुदैँन । अब जनता पार्टीको कार्यकर्ता नबनी देशको नागरिक बन्न आवश्यक छ । अनि मात्र देश विकास छ । यस्ता राजनीतिक दलका नेताहरुको शासन अन्त्य हुन्छ ।