काठमाडौं । जनयुद्ध, जनआन्दोलन तथा अपाङ्ग संघर्ष समितिका पीडितहरुले घाईते तथा अपाङ्ग भएका व्यक्तिहरुको उचित व्यवस्थापन नगरिए सामुहीक आत्मदाह गर्ने चेतावनी दिएका छन् । आईतबार काठामाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुले जनयुद्धका घाइते र अपाङ्गहरु तड्पिएर बाँच्न बाध्य रहेको भन्दै उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराएका हुन् ।
जनयुद्धका घाईते चेतन सिग्देलले सरकारले आफूहरुलाई गाँस, बास, कपास र औषधोपचारको व्यवस्था गर्नुपर्ने बताए । आफूहरुको व्यवस्थापनलाई राज्यले नजर अन्दाज गरे आत्मदाह गर्ने उनको चेतावनी छ ।‘हामी काम गरिखान नसक्ने घाईते कयौं साथीहरुका लागि राज्यले तुरुन्तै गाँस, बास, कपास र औषधोपचारको व्यवस्था गरोस् । यदि हाम्रो समस्याको बेवास्ता गरियो भने हामीहरु संघर्षमा जानेछौं ।’ उनले भने ‘पार्टी र नेताको नाममा संयुक्त आत्मदाह पनि गर्नेछौं ।’ उनले भने, ‘हाम्रो समस्याको बेवास्ता गरियो भने क्यान्टोनमेन्टभित्रको वास्तविकता पनि बाहिर ल्याउने छौं ।’
नेताहरुलाई जंगलदेखि महलसम्म पुर्याउन बारुद र छर्रा शरीरमा बोकी जनयुद्ध लडेका घाईते अपाङ्गले औषधोपचारका लागि व्यक्तिगत सम्पत्ति बेचेर पनि नपुग्ने अवस्था रहेको उनीहरुको भनाई छ । जनयुद्धका घाईते, अपाङ्गहरु हातमुख जोर्न र औषधोपचार गर्न नसक्दा आत्महत्या गर्ने परिस्थितिमा रहेको भन्दै उनीहरुले राज्यले गरिखान नसक्ने अवस्थामा रहेकाहरुको जिम्मा लिनु पर्ने माग राखे ।