काठमाडौं । ‘माटो जोगाऊँ’अभियान लिएर नेपालका सातवटै प्रदेशमा ३५ सय किलोमिटर दौडसहित सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका नवीन पुनले विश्वव्यापी रुपमा एक हजार म्याराथन गर्ने भएका छन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले पृथ्वीको बिग्रिँदै गरेको वातावरण र पर्यावरण बचाउन जनचेतना जगाउने उद्देश्यले म्याराथन गर्न लागेको जानकारी दिए ।
उनले भने ‘पृथ्वी र मानवता जोगाउन हामीले सँगसँगै सचेतना मूलक कार्यक्रम गर्छौं । ध्यानाकर्षण कार्यक्रम गर्छौं । पृथ्वी र मानवता सम्बन्धी संकटहरु आइरहेका छन् । त्यसको बारेमा जानकारी गराउँदै हिड्छौं। ’ विश्वभरका एक सय ५० भन्दाबढि देशमा म्याराथन सञ्चालन हुने उनले बताएका छन् । कार्यक्रम आगामी असोज १ गतेदेखि सगरमाथा आधार शिविरबाट सुरु हुनेछ । पहिलो चरणमा सगरमाथा आधार शिविरबाट पृथ्वीको सबैभन्दा होचो स्थान मृत सागरसम्म हुने बताइएको छ । उक्त अवधिमा ६० वटा म्याराथन हुने छन् ।
धावक पुनले विश्वभर ४२ हजार एक सय ९५ किलोमिटर दौडिएर यो अभियानलाई सफल बनाउने बताए ।
कम्तिमापनि ४२.१९५ किलोमिटर दुरी म्याराथनका लागि आवश्यक पर्ने भएकाले सोही मापदण्डको आधारमा उनले एक हजार वटा म्याराथन गर्न लागेको बताए । पहिलो चरणको अभियान नेपाल, भारत, पाकिस्तान, अफ्गानिस्थान, इरान, इराक र जोर्डन पुगेर समाप्त हुने एक हजार वटा म्याराथनका लागि साढे तीन वर्षको समयावधि छुट्याइएको धावकपुनले बताए ।