काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले सुरु गरेको भ्रष्ट्राचार विरुद्धको अभियानले प्रतिगामीहरुको सात्तो उडेको बताएका छन् । आईतबार समाजवादी मोर्चाले बागमती प्रदेश अन्तर्गत हेटौंडामा आयोजना गरेको सन्देश सभालाई सम्बोधन गदैै प्रधानमन्त्री प्रचण्डले सरकारले सुरु गरेको नयाँ अभियानले हिजो सत्तामा हुँदा देश र जनताप्रति गद्दारी गर्नेहरुको सातो गएको बताएका हुन् ।
उनले हिजो कुशासन चलाउनेहरु अहिले सरकारले सुरु गरेको अभियानबाट आतिएर सरकारविरुद्ध षड्यन्त्र र घेराबन्दी सुुरु गरिरहेको बताए ।
उनले भने,‘सरकारले जसरी एकपछि अर्को भ्रष्ट्राचारका काण्डहरु खोल्दै गएको एकाथरीलाई मन परेको छैन् । उनीहरु सरकारविरुद्ध लागेका छन् । हिजो अनेकन भ्रष्ट्राचारका काण्ड मच्चाउनेहरु एकजुट भएर सरकारविरुद्ध लागेका छन् । कुनै पनि षड्यन्त्र, गुटबन्दी र धम्कीले सरकार अभियानबाट पछि हड्दैन् । यसलाई अझै सशक्त ढंगबाट लगिने छ,।’
सरकार देश र जनताको पक्षमा काम गर्न जुनसकै बाधालाई परास्त गर्दै अगाडि बढ्ने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भ्रष्ट्राचारको विरुद्ध, जनजीविका, समृद्धि र सुशासनको पक्षमा कसैसँग घुँडा नटेक्ने बताए । सरकारले सुरु गरेका राम्रा कामबाट प्रतिक्रियावादीहरु आतिएको उल्लेख गर्दै उनले यो अभियान सबै नेपाली जनताको भएकाले साथ र समर्थन गरेर सरकारलाई अझै उर्जा थप्न आग्रह गरे । समाजवादी मोर्चा निर्वाचनका लागि नभएको प्रष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले अहिलेका उपलब्धि र संविधानको रक्षा गर्दै गणतन्त्रलाई सर्वहारा, समाजवादीहरुको बनाउनका लागि जन्मिएको बताए ।
उनले यो मोर्चा लामो संघर्ष र बलिदानबाट देश र जनताले प्राप्त गरेको महान उपलब्धिहरुको रक्षा गर्न बनेको उल्लेख गरे ।