काठमाडौं। तारकेश्वर नगरपालिकामा तारकेश्वर नगरविकास योजना आयोग गठन भएको छ। भाद्र ७ गते नगर प्रमुख कृष्ण हरि महर्जन अध्यक्ष रहने गरी नगरविकास योजना आयोग गठन भएको हो।

नेपाल सरकारले नगर योजना कार्यान्वयन गर्न आवश्यकता अनुसार प्रत्येक स्थानीय तहलाई यस्ता आयोग गठन गर्ने अधिकार दिएको छ। आयोग गठन भने तारकेश्वर नगरविकास योजना आयोग गठन संचालन र कार्यविधि ऎन २०८० को दफा ३ ले गरेको छ। उक्त योजना आयोगको उपाध्यक्ष भने भर्खर मात्र तारकेश्वर नगरकै प्रमुख प्रशासकीय अधिकृतबाट अवकाश पाएका डा.कृष्ण बहादुर घिमिरेलाई नियुक्त गरिएको छ। डा. घिमिरे निजामती क्षेत्रमा अनुभवी र विकास योजना बनाउन दक्ष प्रशासकका रूपमा परिचित रहेका छन् । नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीचको सौहार्दपूर्ण र समन्वत्मक सम्बन्धका कारण नगर विकास निर्माण कार्यमा अगाडि बढ्न धेरै हदसम्म सफल भएको उनको बुझाइ छ ।

घिमिरेले करिब ३७ वर्ष निस्वार्थ रुपमा कुनै पनि बिबादमा नपरी जनताको पक्षमा काम गरेर बिताएका थिए। उनले जुन-जुन ठाउँमा कार्यभार सम्हाले त्यो ठाउँको कार्यसम्पादन उत्कृष्ट देखिएको थियो। उनले तारकेश्वर नगरमा पनि केही समय जिम्मेवारी वहन गरेका थिए। त्यसबखत उनले तारकेश्वरमा थुप्रै नीतिगत र दुरगामी विकासका कार्यहरुको सुरुवात गरेका थिए। उनले तारकेश्वरको जिम्मेवारीमा रहँदा ‘स्थानीय सरकार सञ्चालन ऐन २०७४’ ले तोके अनुसार काम, कर्तव्य र अधिकारलाई उत्कृष्ट ढङ्गबाट कार्य सम्पादन गरेका थिए। तारकेश्वरमा नगरप्रमुख र घिमिरेको समान बुझाइले थुप्रै विकासका कामहरु भएका थिए। उनले नगर प्रमुखको प्रमुख सल्लाहकार जस्तै भएर उर्जावान जनप्रतिनिधि लाई कुशल ढंगले साथ् दिएका थिए। उनले नगरको बेरुजु घटाउन महत्वपूर्ण योगदान गरेका थिए। तारकेश्वरमा तत्कालिन समयमा प्रमुख प्रशासकीय अधिकृत र नगरप्रमुख महर्जन बीच कार्यालयको कामको सन्दर्भमा अत्यन्त सौहार्दपूर्ण र समन्वयात्मक सम्बन्ध रहेको थियो। जनप्रतिनिधिहरूको समग्र प्रतिनिधित्व प्रमुखले र कर्मचारीहरूको समग्र प्रतिनिधित्व प्रमुख प्रशासकीय अधिकृत घिमिरेले नेतृत्वको रूपमा भूमिका निर्वाह गरेका थिए । जनप्रतिनिधि र कर्मचारीबीच कार्य सम्पादनमा साथ, सहयोग र एकअर्का बीच विश्वास कायम भएकै कारण तारकेश्वरमा विकासको वातावरण बन्दै गर्दा काम गर्न सहज भएको थियो।

घिमिरेले नगरप्रमुख महर्जनको विकास योजना र दृढ इच्छा शक्ति देख्दा आफुलाई आन्नद लाग्ने बताए। उनले भने,’हालको नगर नेतृत्व विकास निर्माण लगायत समग्र नगर विकासको पक्षमा अत्यन्त सकारात्मक रहेको पाएको छु । उहाँहरु शिक्षित र युवा समेत हुनुहुन्छ र नगरका शिक्षा, स्वास्थ्य, खानेपानी, फोहोर व्यवस्थापन लगायत सबै किसिमका पूर्वाधार विकासमा गुणस्तरीयता सहितको विकासका कार्यमा रणनीतिक योजना सहित कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै संवेदनशील भएर काम गरिरहनुभएको छ ।’ गठन भएको आयोगमा घिमिरे आउन सकारात्मक हुनु तारकेश्वरको लागि अर्को अवसर रहेको बताए। महर्जनले उनको अनुभव र दक्षतालाई तारकेश्वरको विकासमा लगाउन पाउनु अत्यन्तै खुसीको कुरा भएको बताए। तारकेश्वरलाई नमुनाका रूपमा विकास गर्न नगर नेतृत्व क्रियाशील रहेको छ । नगरप्रमुख महार्जनको उर्जा र सक्रियतालाई हेर्ने हो भने कानुनी राज्यको अवधारणालाई आत्मसात गरी कर्मचारी, नगरका अन्य जनप्रतिनिधि र नागरिकको आचरण तथा व्यवहारमा सुधार आए तारकेश्वरमा अब विकासले गति लिन कसैले रोक्न सक्दैन। काठमाडौंको सुन्दर र पर्यटकीय क्षेत्रका रूपमा रहेको तारकेश्वर नगरपालिकाले विकास निर्माणमा उल्लेखनीय सफलता हासिल गर्दै आइरहेको छ ।

तारकेश्वर नगर उप-प्रमुख सिर्जना बुर्लाकोटी नगरविकास योजना आयोगको सदस्य रहेकी छन्। उनी बाहेक अरु थप २ सदस्यहरु पनि रहेका छन्। नगरविकास योजना आयोग गठन बाट समृद्द तारकेश्वर नगर बनाउन सहयोग पुग्ने नगरवासीको बिश्वास रहेको छ।

उक्त आयोगको काम, कर्तव्य र अधिकार:
(क) नगरपालिकाको समग्र समृद्धिका लागि दूरगामी सोच सहितको दीर्घकालीन लक्ष्य, मार्गचित्र, नीति तथा योजना तर्जुमा गरी कार्यान्वयनको लागि सिफारिस गर्ने,
(ख) नगरपालिकाको विकासको सम्भावना र अवसरलाई वृहत्तर अध्ययन, अनुसन्धान गरी सहभागितामूलक विधिबाट अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना, गुरूयोजना तर्जुमा गर्ने,
(ग) नगरपालिकाको आर्थिक, सामाजिक, सांस्कृतिक, वातावरणीय, प्रविधि र पूर्वाधारजन्य विकासका लागि आवश्यक आयोजना तथा परियोजनाहरुको तर्जुमा, कार्यान्वयनमा सहजीकरण, सुपरिवेक्षण, अनुगमन तथा मूल्याङ्कन गर्ने,
(घ) नगरपालिका भित्र आयोजनाहरुको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्याङ्कन गर्ने गराउने,
सम्भाव्य प्राकृतिक स्रोत साधनहरुको पहिचान, अभिलेख व्यवस्थापन तथा उपयोग सम्बन्धी योजना तथा रणनीति तयार गर्ने,
(च) सहरी विकास, भू-उपयोग, बस्ती विकास, भवन संरचना जस्ता भौतिक पूर्वाधार सम्बन्धमा अध्ययन, अनुसन्धान गरी गराई मापदण्ड सिफारिस गर्ने,
(छ) सार्वजनिक सम्पत्ति पहिचान, संरक्षण तथा सदुपयोगको योजना तर्जुमा गर्ने र कार्यान्वयनमा सहजीकरण गर्ने,
(ज) नगरपालिका क्षेत्रभित्र पर्यटन क्षेत्रको विकास, विस्तार र प्रर्वधन सम्बन्धी आयोजनाहरुको पहिचान गरी कार्यान्वयनका लागि आवश्यक समन्वय गर्ने,
(झ) जनसहभागिता, सहभागितामूलक व्यवस्थापन, उपभोक्ता समिति, सार्वजनिक निजी साझेदारी, निजी लगानी जस्ता विकासका नवीन अवधारणा हरुको अध्ययन, अनुसन्धान तथा विश्लेषण गरी नगरपालिकाको नीति तथा योजनामा आवद्ध गर्ने । जस्ता कार्य सम्पादनमा जोड दिएर जाने निर्णय भएको याेजना आयोगले जनाएको छ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

two + 7 =