काठमाडौं।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदमा महेश कुमार श्रेष्ठले उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गरेका छन्। शुक्रबार ललितपुरको होटल हिमालयमा पत्रकार सम्मेलन गर्दै श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
अहिले उपाध्यक्ष समेत रहेका श्रेष्ठले ‘समुन्नत नेपाल, सम्मानित गरिआवासीय नेपाली’ मूल नाराका साथ् आफ्नो उम्मेद्वारी घोषणा गरेका छन्। उनले सहमति, सहकार्यको माध्यमबाट संघलाई उचाइमा लैजानुपर्ने प्रमुख दायित्वलाई पूरा गर्न अध्यक्षमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताए। श्रेष्ठले आफ्नो उम्मेदवारीका साथ आफ्नो प्रतिबद्धतापनि सार्वजनिक गरेका छन् । जसमा निर्वाचित भएर आएपछि एनआरएनए केन्द्रित योजनाहरुको कार्यन्वयन गर्नेतर्फ आफ्नो ध्यान रहने बताएका छन् । आफू अध्यक्षको रुपमा मैदानमा आउँदै गर्दा केही महत्वपूर्ण मुद्दालाई सम्बोधन गर्न आफ्नो क्षमताले भ्याएसम्म इमान्दारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता उनले गरेका छन् । उनले आगामी २ वर्षे कार्यकालको लागि पाँच नीतिगत प्राथामिकतामा विभाजन गरी कार्ययोजनाहरु समेत प्रस्तुत गरेका छन् । श्रेष्ठले सार्वजनिक गरेको प्रतिबद्दतामा एनआरएनएको संकल्प:नेपालको समुन्नति, जन्मभूमिका नेपालीलाई कर्मभूमि नेपालीको साथ, अबको कार्यभार: एनआरएनएको हक, हित र अधिकार, एनआरएनएको संरचनात्मक सुधार र संस्थागत विकास र मेरो प्राथामिकता: युवा, महिला तथा दोश्रो पुस्ता प्राथामिकतामा रहेका छन्।
उनले भनेका छन् ,’गैरआवासीय नेपाली संघको उद्देश्य अनुसार काम गरी संघको गरिमा, प्रतिष्ठा र छवि पुनः स्थापित गर्न नीति, रणनीति र कार्ययोजनाहरु कार्यान्वयन गर्ने संकल्पका साथ मैले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु । विगतमा जस्तै यसपटक पनि सम्पूर्ण गैरआवासीय नेपाली समुदायको सहयोग, समर्थन, शुभेच्छा र आशीर्वाद पाउने पूर्ण विश्वास लिएको छु । साथीहरुको विवेकसम्मत निर्णयमा सम्पूर्ण गैरआवासीय नेपाली समुदायको साझा संगठन गैरआवासीय नेपाली संघको भविष्य निर्भर छ । त्यसैले गैरआवासीय नेपाली संघको अध्यक्षमा मलाई निर्वाचित गर्नुहुनेछ भन्ने पूर्ण विश्वाससहित तपाईंहरूको अमूल्य मतका लागि संस्थाका संस्थापक, अग्रज, मेरा सहकर्मी, शुभचिन्तक तथा सम्पूर्ण सदस्य साथीहरु समक्ष सविनय हार्दिक अनुरोध गर्दछु ।’