काठमाडौँ। सरोकारवालाले युवाका नीति बने पनि कार्यन्वयनमा समस्या रहेकोले युवाका क्षेत्रमा काम हुन नसकेको बताएका छन् । राष्ट्रिय युवा परिषद् र नेपाल विजनेश इन्स्च्यिुटले आज सयुक्त रुपमा आयोजना गरेको ‘तेस्रो युवा उद्यमशीलता शिखर सम्मेलन–२०८०’ को ‘वर्तमान आर्थिक चुनौति र उद्यमशीलताको मार्गचित्र’ बिषयक अन्तरक्रिया कार्यक्रमले युवाका क्षेत्रमा धेरै नै नीति बने पनि कार्यन्वयनमा समस्या भएको बताइएको हो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनवहादुर श्रेष्ठले १६ औ पञ्चबर्षिय योजना बनाइरहेको र उक्त योजनामा बाहिर भएका युवालाई नेपाल फर्काउने कार्यक्रम बनाइरहेको बताए । उनले युवाहरुलाई उपलब्ध गराउदै आएको सहुलितपूर्ण कर्जा उत्पादन नबढेकोले कर्जा रोक्नुपरेको बताए । कार्यक्रममा उद्योग तथा बाणिज्य मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नीति ल्याएपनि कार्यन्वयनमा समस्या भएकोले युवाको मुद्दा समाधान गर्न नसकिएको बताए । उनले युवाका समस्या युवासँग बसेर छलफल गर्न सके युवाका क्षेत्रमा धेरै नै अगाडि बढ्न सकिने धारणा व्यक्त गरे ।
त्यस्तै नेपाल बैंकर एसोसिएसनका अध्यक्ष सुनिल केसीले लगानी गरेको ऋण उठ्ने निश्चित हुनुपर्ने बताएका छन् । उनले आफूहरु पनि युवाका क्षेत्रमा लगानी गर्न इच्छुक रहेको भन्दै तर लगानी नउठ्ने कि भन्ने जोखिम रहेकाले केही बैंकहरु उद्यमशीलतामा लगानी गर्न डराएको बताएका हुन् । “ऋण फर्कन सक्ने अवस्थामा हामी लगानी गर्दछौ । व्यापारीलाई सफल बनाउने के गर्न सकिन्छ त्यो गर्न हामी तयार रहेका छौ, ” उनले भने । नेपाल उद्योग बाणिज्य महासङ्घका पूर्वअध्यक्ष भवानी राणाले अहिलेका युवा धेरै क्रियटिभ रहेको भन्दै नीति नियमको परिमार्जन गरेर युवालाई उद्यमशीलता बनाउन आवश्यक रहेको बताईन् । उनले सरकारले युवाका लागि ल्याइएको योजनामा राजनीतिकरण भइरहेको भन्दै त्यसलाई रोक्नुपर्ने बताईन् ।
रिटर्नी माइग्रेशनका अध्यक्ष लक्ष्मीप्रसाद आचार्य, युवा शंकर उपाध्याय, मानवहादुर धनहामगर, तीर्थराज ढुंगेल, नारायण गिरि, आरती शर्मा लगायतले युवालाई सहज रुपमा ऋण उपलब्ध गराउनुपर्ने बताए ।