रामेछाप । नेपालीका ठुला ठुला पर्वहरू नजिकिँदै छन् । तिज, सोह्रश्राद्ध, दशैँ, तिहार जस्ता पर्व नजिक आएका छन् । चाडपर्व नजिकिएसँगै गाउँ छाडेर सहर पसेकाहरू गाउँ फर्कने क्रम सुरु हुन लागेको छ । अध्ययन, रोजगारी लगायतका काममा सहर छिरेका र कतिपय सहरमा नै बसोबासका पनि चाड मनाउन गाउँमा फर्कने प्रचलन बढ्दै गएको छ ।

गाउँमा सडक सञ्जाल विस्तार भएसँगै यातायात साधन चल्ने भएपछि परिवार सहित गाउँ फर्कनेको सङ्ख्या बढ्दै गएको छ । ‘अघि पछि सहरमा रमाइलो भए पनि चाडबाड गाउँमा नै रमाइलो हुन्छ’, खाँडादेवी गाउँपालिका–६ माकादुमका रमेश केसी भन्छन् । सडक विस्तार भए पनि पक्की सडक नबन्दा गाउँका अधिकांश कच्ची सडक वर्षाको कारण बिग्रिएका छन् । चाडबाडलाई लक्षित गरेर स्थानीय सरकारहरू वर्षाले बिगारेका सडक मर्मतको काममा जुटेका छन् । रामेछाप जिल्लाका आठवटै पालिकाका ६४ वटै वडामा सडक पुगेको छ । तर जिल्लामा पक्की सडक भने कम छ । राजधानी काठमाठौंबाट गाउँपालिकाका केन्द्र र वडामा पुग्ने अधिकांश सडक कच्ची छन् । वडा कार्यालयहरू दशैँ, तिहारलाई लक्षित गरी आ–आफ्ना वडाका सडक मर्मतको काममा लागेका छन् ।

कतिपय गाउँपालिकाका वडा कार्यालयले गाउँपालिकाको स्काभेटर प्रयोग गरेर सडक मर्मतको काम थालेका छन् भने कतिपयले भाडामा मेसिन लिएर भए पनि काम थालेका छन् । दशैँलाई लक्षित गरेर वडाका मुख्य सडकहरू मर्मतको काममा आफू जुटेको खाँडादेवी गाउँपालिका–१ का वडाध्यक्ष रामकुमार श्रेष्ठ बताउँछन् । ‘दशैँ आउन लाग्यो बाटो सफा गरिदियो भने गाउँ आउने मानिसहरू सहजै आउन सक्छन्, दुर्घटनाको डर हुँदैन’, श्रेष्ठले भने ।

सो गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ पनि दशैँ अघि सबै वडाका प्रमुख सडक सफा गरिदिने योजना रहेको बताउँछन् । ‘चाडबाडमा गाउँका मानिसहरू आउँछन्, बाहिरका आफन्त पनि आउँछन्, बाटो राम्रो भयो भने उनीहरूलाई आवागमनमा सहज हुन्छ, त्यसैले पालिकाका प्रमुख सडकमा एकपटक डोजर लगाएर सफा गरिदिने योजना बनाएर काम थालेका छौँ’, उनले भने । खाँडादेवी गाउँपालिका मात्र होइन जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा पनि अधिकांश वडामा पुग्ने सडक कच्ची छन् । वर्षाले बिगारेको ती सडक मर्मत गर्ने र खाल्टाखुल्टी पुर्ने काममा मन्थली नगरपालिका पनि जुटेको छ । ‘अब वर्षा करिब करिब सकियो, सबै सडक एक पटक मर्मत गर्नुपर्छ’, मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ भन्छन् ।

जिल्लाको सबैभन्दा दुर्गमको उमाकुण्ड गाउँपालिकाले पनि दशैँ तिहारलाई लक्षित गरेर सडक मर्मत र सरसफाइको काम सुरु गरेको छ । रामेछापको सबैभन्दा उत्तरको भूगोल उमाकुण्डको गुम्देल लाहाछेवरसम्म सडक पुगेको छ । तर वर्षाको कारण ठाउँ ठाउँमा सडक बिग्रिएको छ । ‘दशैँमा काठमाडौंबाट सोझै गाउँसम्म पुग्ने गरी उद्देश्यका साथ सडक मर्मतको काम गरिरहेका छौँ’, उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवार भन्छन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

one × 5 =