काठमाडौं ।
नेपाली कांग्रेसका संस्थापक एवम् २०४६ को जनआन्दोलनका कमाण्डर स्वर्गीय गणेशमान सिंहको २६ औँ स्मृति दिवस मनाइँदै छ ।दिवसको अवसरमा विरामीहरुलाई फलफुल वितरण तथा शालिकमा माल्यार्पण गरिएको छ ।

मुलुकमा विवादित अवस्थामा रहेका कम्युनिष्टलाई एक ठाउँमा ल्याउन सिंहको महत्वपूर्ण भूमिका रहेको छ ।
को हुन् गणेशमान ?
काठमाडौंको खानदानी परिवारमा जन्मिएका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषदको सदस्य भई राणा शासन हटाउने राजनीतिमा आफूलाई होमेका थिए । भद्रगोल जेल फोडेर भागेपछि भारत प्रवासमा गएको बेला वीपी कोइरालासँग मिलेर उनले २००३ सालमा नेपाली कांग्रेस स्थापना गरेका थिए । २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले बीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए । संर्घषका हिसाबले बीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुनर्बहालीका लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा चिनिन्थे ।

२०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष निरन्तर काराबासको सजायँ भोगे । जेलमा कठोर यातना पाउँदा पनि गोपनियता नखोलेको र आफ्नो लक्ष्यमा दृढ रहेपछि उनलाई ‘लौह पुरुष’ –फलाम जस्तो कठोर मानिस)को उपमा दिइएको हो । २०३३ सालमा बीपीसँगै उनी राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्किएका थिए । तर, तत्कालीन पञ्चहरूबाट बीपीसँगै उनलाई पनि मृत्युदण्डको सजायँ सुनाएको थियो । उनले २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत संग्रहमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

बीपीको निधनपछि कांग्रेसको सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन सुरु गरेका थिए । १९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका धनी गणेशमानले २०४६ सालमा राष्ट्रिय जनआन्दोलनमा नेतृत्वदायी भूमिका खेलेका थिए ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

three × 2 =