विराटनगर । कोशी प्रदेशका विभिन्न आठवटा क्षेत्रका नवउद्यमीहरुको उद्यमशीलताको विकास र प्रवर्द्धनका लागि करिब २० करोड रुपैयाँ बराबर लगानीको प्रतिवद्धता जनाइएको छ । बिहीबार विराटनगरमा आयोजित आध्यन्त एक्सिलिरेटर कार्यक्रम अन्तर्गतको लगानी सम्मेलनमा लगानीको प्रतिवद्धता जनाइएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेशको सहकार्यमा आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेड, प्रदेश लगानी प्राधिकरण, नेपाल कृषि बजार विकास कार्यक्रम, स्वीस कन्ट्याक्ट लगायतको सहभागीतामा सम्मेलन आयोजना गरिएको थियो । लगानी सम्मेलनमा चिया, माछा, अलैंची, अचार लगायतका कृषि क्षेत्रसँग सम्बन्धित उद्योग स्थापना गरेका नवउद्यमीहरुलाई आवश्यक पर्ने थप लगानीको प्रतिवद्धता प्राप्त भएको हो ।

सम्मेलनमा सहभागी फण्ड म्यानेजमेन्ट क्षेत्र सम्वद्ध संस्थाहरुले नेपालमै बसेर नवउद्यम प्रवर्द्धनमा लागेका उद्यमीहरुलाई थप प्रोत्साहन गर्ने उदेश्यले आवश्यक लगानीको प्रतिवद्धता जनाए । कार्यक्रममा आध्यन्त फण्ड अन्तरगत आठ महिनाको अवधिमा उद्यम प्रवद्र्धन गरिएका आठ जना नवउद्यमीहरुले आफ्नो उद्यमशिलताको क्षेत्र, लगानी र अवसरहरुबारे जानकारी गराइएका थिए ।

इलामको रक्तकाली टि इस्टेट प्रालिका दिनेश माझी, विराट समूहका बिष्णु आचार्य, दिव्यदृष्टि वेनेरेसन एण्ड एग्रो कन्सर्न प्रालि बिष्णु पोखरेल, शिवबाबा आचार जुस उद्योग दिनानाथ सिवाकोटी, एग्री सेन्टर प्रालि झापाका चन्द्रप्रसाद बस्नेत, मोङ्सुद कृषि फर्म प्रालिका रोबिन राई, रिभर्स भेण्डिङ मेसिन नेपाल प्रालि जोसेफ श्रेष्ठ र खेतीपाटी अर्गानिक्स प्रकृति गौतमले आफ्नो प्रस्तुति दिएका थिए ।

आध्यन्त एक्सेलरेटर कार्यक्रम अन्तरगत १० जना उद्यमीहरूले आफ्नो व्यवसाय निर्माण र विस्तारका विभिन्न क्षेत्रमा तालिम प्राप्त गरेका छन् । उनीहरुमध्ये बिहीबार आयोजित कार्यक्रममा आठजना उद्यमीहरुले आफ्नो उद्यमबारे जानकारी गराएका थिए । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकका राजनीतिक स्थायित्व नभएका कारण आर्थिक क्षेत्रको विकास समेत प्रभावित भएको बताए ।

नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले उद्यमशिलताको विकास र नविनतम् खोजलाई प्रवर्द्धन गर्दै उनीहरुको क्षमता विकासमा निजी क्षेत्रले सँधैभरी सहयोग गर्दै आइरहेको बताए । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले शीपको विकास बिना मुलुकको विकास नहुने बताए ।

प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा.सरोज कोइरालाले उद्योग र उद्यमशिलताको क्षेत्रमा अपार सम्भावनाको खोजी आवश्यक रहेको बताए । कृषि र पर्यटनको क्षेत्रमा सरकारको तर्फबाट प्रोत्साहन समेत हुने गरेकोले नवउद्यमीहरुले इमान्दारिताका साथ काम गर्दै मुलुकको आर्थिक विकासको नेतृत्व गर्नुपर्ने सुझाव उद्योग, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. लेखराज दाहालले दिए ।

आध्यन्त फण्डका अध्यक्ष यज्ञप्रसाद न्यापानेले स्वदेशमै उद्यमशिलताको विकासले विदेशी मुद्राको समग्र संचय हुने, रोजगारी बृद्धि हुने, राज्यले थप कर प्राप्त गर्ने र मुलुकको ग्राहस्त उत्पादन बृद्धिमा समेत सहयोग पुग्ने बताए । यसैगरी,सहज परियोजनाकी टिम लिडर रीमा श्रेष्ठले दृढ विश्वासका साथ अघि बढ्न चाहने नवउद्यमीहरुलाई सवै क्षेत्रबाट सहयोग र प्रोत्साहन हुनुपर्ने बताइन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

two × four =