काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्ष चतुरबहादुर चन्दले आगामी दिनमा खेलाडीहरूको हौसला बढाउने खालका कार्यक्रमका साथ नयाँ कार्यसमिति अगाडि बढ्ने विश्वास दिलाएका छन् । आज नेपाली क्रिकेट टिमलाई शुभकामना तथा विदाई दिन आयोजित पत्रकार सम्मेलनमा उनले कार्यसमिति विगतको भन्दा उत्कृष्ट तरिकाले अगाडि बढ्ने भन्दै खेलाडीहरूका सुधारका लागि काम गर्ने बताए ।

उनले भने, ‘पहिलाभन्दा उत्कृष्ट रूपमा यो कार्यसमितिले सबै खेलाडीको भावनाको कदर गर्दै आगामी दिनमा देखिने गरी, मनोबल कमजोर नहुने गरी हौसला बढाउने खालको कार्यक्रमका साथ अगाडि बढाउने विश्वास र प्रतिबद्धता जाहेर गर्न चहान्छु ।’ उनले खेलको लागि शुभकामना दिदैँ उच्च मनोबलका साथ खेलेर मेडल जितेर आउन आग्रह पनि गरेका छन् । यस्तै, क्यानका सचिव पारश खड्काले आगामी दिनमा देशलाई जिताउनको लागि नयाँ सोच, विचार र रणनीतिका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । उनले नेपाली क्रिकेटको नयाँ युगको सुरुआत गर्ने प्रयासमा रहेको भन्दै खेलाडीहरूलाई मेहेनतका साथ अगाडि बढ्न शुभकामना दिएका छन् ।

उनले भने, ‘कुनै पनि खेल, प्रतियोगितालाई सहज तरिकाले नलिनु होला, यही खेलमार्फत हामीले सम्पूर्ण जनतालाई एउटै ठाँउमा ल्याउन ठूलो भूमिका खेलेको छ । त्यसैले सबैको जिम्मेवारी छ, आगामी दिनमा आफ्नो देशलाई जिताउनका लागि नयाँ सोच, विचार र रणनीतिका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाउन चहान्छु । यो प्रतियोगितामा मेडल ल्याउने लक्ष्य छ त्यसको लागि आफ्नो तर्फबाट तयारी गर्नुभएको होला ।’

उक्त पत्रकार सम्मेलनमा नेपाली क्रिकेट टिमका क्याप्टेन रोहित पौडेलले हाम्रो उद्देश्य मेडल जित्नु भएको भन्दै त्यसको लागि निरन्तर प्रयास गरिरहेको बताए । उनले सबै जना खेलको लागि तयार रहेको र खेल राम्रो हुने आशा लिएको पनि बताए ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

13 + 19 =