कायारो । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल जस्तो अल्पविकसित मुलुकको विकासका लागि सहुलियतपूर्ण वित्तीय सहायताको आह्वान गरेका छन् । इजिप्टको शार्म अल शेखमा आयोजित एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको आठौं बैठकमा गभर्नरहरूको बिजिनेश राउण्ड टेबलमा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै उनले नेपाल जस्ता अल्पविकसित मुलुकको लागि सहुलियतपूर्ण वित्तीय सहायताले ठूलो अर्थ राख्ने भन्दै सहुलियतपूर्ण संयन्त्रको व्यवस्थाका लागि नेपालले राखेको प्रस्तावमा सहमति जनाउन सबै सदस्य राष्ट्रलाई आह्वान गरेका हुन् ।
उनले विश्व अर्थतन्त्रको स्थिरता, शून्य कार्बन उत्सर्जनतर्फको यात्रामा तीव्रता र निम्न तथा मध्यम आय भएका मुलुकको आर्थिक विकास, गरिबी निवारण एवम् नागरिकको गुणस्तरयुक्त जीवनका लागि वित्तीय स्रोतमा पहुँच प्रमुख तीन चुनौती रहेको बताए । उनले विकासशील सदस्य राष्ट्रका पूर्वाधार विकासका लागि हाल प्रचलित वित्तीय सहायता संयन्त्र एवम् उपकरण पर्याप्त नभएको भन्दै सो क्षेत्रमा नवप्रवर्तनको आवश्यकता रहेको बताए ।
उनले खासगरी विकासशील मुलुकका लागि वित्तीय साधन स्रोतको अभाव हुन नदिनका लागि बैंकले सार्वजनिक निजी साझेदारी, हरित बण्ड, सम्मिश्रित वित्त लगायतका नवीन तथा सिर्जनशील उपकरणको उपयोग गर्नुपर्ने आवश्यकता रहेको तर्फ पनि विशेष जोड दिएका छन् । एआइआएबीको आठौं वार्षिक बैठकको अवसरमा आयोजित जलवायु परिवर्तनबाट सृजित समस्या सम्बोधनको उच्च आकांक्षा र सोका लागि अपेक्षित जलवायु वित्त परिचालन सम्बन्धी छलफलमा समेत अर्थमन्त्री महत प्यानेलिष्ट वक्ताको रूपमा सहभागी भएकाथिए ।
यस्तै, उनले नेपाल जलवायु परिवर्तनको समस्या सृजनामा खासै भूमिका नरहेका नेपाल जस्ता विकासशील मुलुकाको चुनौती सामनाका लागि बढी कार्बन उत्सर्जन गर्ने विकसित एवम् ठूला अर्थतन्त्रले जलवायु परिवर्तनको समस्या सम्बोधनका सम्बन्धमा गरेका प्रतिवद्धता पूर्ण रूपमा पालना गर्नुपर्ने बताए ।