काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको विदेश भ्रमण सफल भएको निष्कर्ष निकालेको छ । सो पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले आज पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा समग्रमा हेर्दा प्रधानमन्त्रीको भ्रमण सफल भएको बताएका हुन् ।
अहिले विश्व परिस्थिति र क्षेत्रिय परिस्थितिको जटिलताको प्रभाव पर्न नदिने कुरामा चीन र नेपालकाबीच सहमती भएको भन्दै उनले प्रधानमन्त्रीको भ्रमण सफल भएको जिकिर गरे ।
उनले भने, ‘चीन भ्रमणले नेपाल चीन सम्बन्धमा नयाँ आयाम थपिएको छ । अहिले विश्व परिस्थिति र क्षेत्रिय परिस्थितिको जटिलता पेचिलोपनको यो अवस्थामा दुई देशका नेताहरु यसको प्रभाव पर्न नदिने कुरामा सहमत हुनुभएको छ । र पहिला नै राखेका कुराहरुमा पुनः प्रतिबद्धता पनि व्यक्त गरिएको छ । त्यस अर्थमा यो भ्रमण सफल भएको छ । समग्रमा हेर्दा यो भ्रमणले नेपालको पछिल्लो गतिविधिहरु नेपालले गर्दै गरेको कामहरुको बारेमा जानकारी गराउँदै यो भ्रमण सफल भएको देखिन्छ ।’ उनले भ्रमणमा चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको राष्ट्रिय योजना आयोगकाबीचमा सम्झौता हुनु देश विकासमा नयाँ आयामको सुरुवात हुनु भएको बताए ।
उनले भने, ‘अहिलेको भ्रमण आर्थिक विकास, दुई देशका विकासका आधारमा तय भएको छ । कामकाजी खालका सहमती र सम्झौता भएका छन् । डिजिटल अर्थतन्त्रमा सहयोग गर्ने कुरा भएको छ, त्यसैगरि राष्ट्रिय सुरक्षाका कुराहरु, विज्ञान तथा प्रविधिका कुरा सबै कुरामा सहकार्य गर्ने कुरा छ । जलवायु परिवर्तनका सन्दर्भमा नेपालको वनमन्त्रालय र चीनको वन मन्त्रालयका बीचमा पनि सहकार्य गर्ने सहमति भएको छ । विज्ञान र प्रविधिको कुरामा पनि उहाँहरुसँग भएको विज्ञान र प्रविधि नेपाललाई दिने कुरा गर्नु भएको छ ।’ यसको साथै, संयुक्त राष्ट्र संघको महासभामा शान्ति प्रक्रिया र जलवायु परिवर्तनबाट नेपाल जस्तो देशलाई परेको प्रभावबारे ध्यानाकर्षण गराएको भन्दै उनले प्रधानमन्त्रीको प्रशंसा गरे ।