विराटनगर । प्राविधिक गडबडी र मर्मत सम्भारको नाममा हुने अघोषित लोडसेडिङका कारण सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगहरु प्रभावित बनेका छन् ।
नियमित बिजुली आपूर्ति नहुँदा पूरा समय उद्योग सञ्चालन नहुनुका साथै यसले उत्पादनमा पनि असर गरिरहेको छ । बजारमा तरलताको अभाव र बैङ्क तथा वित्तीय संस्थाको चर्को ब्याजदरका कारण लामो समयदेखि संघर्षरत उद्योगीहरु विद्युत कटौतीको समस्याका कारण अझ पिरोलिएका छन् । उद्योग पूर्ण क्षमतामा सञ्चालन नहुँदा बिशेषगरी उत्पादनको क्रममा रहेकोे कच्चा पदार्थहरु बिग्रँदै गएको उद्योगी भीम घिमिरे बताउँछन् । यसले उत्पादन र सामान आपूर्ति शृङ्खलामा पनि प्रतिकूल असर पुर्याएको उनको भनाई छ ।
लोडसेडिङका कारण उद्योगधन्दा पूर्ण क्षमतामा सञ्चालन हुन नसकेर उत्पादनमा ह्रास आएको छ । उद्योगीहरुका अनुसार उत्पादन लागत पनि बढ्दै गएको छ । सुनसरी–मोरङ करिडोरमा हाल बिहान र बेलुकै लोडसेडिङ हुने गरेको उद्योगीहरु बताउँछन् । उनीहरुका अनुसार विद्युत आपूर्तिको अभावमा चौबीसै घण्टा चल्ने उद्योगहरु सञ्चालन हुन सकेका छैनन् भने अन्य उद्योगहरुले उत्पादन घटाएका छन् ।
अघोषित लोडसेडिङका कारण सुनसरी–मोरङ करिडोरमा सञ्चालित उद्योगहरु प्रभावित बनेका हुन् । आरती स्ट्रीप्स, हुलास वायर्स, रिलायन्स स्पिनिङ, अरिहन्त मल्टिफाईबर्स, प्रिमियर स्टील, पशुपति स्टिल र कमला रोलिङ मिल्स जस्ता उद्योगहरु पूर्ण क्षमतामा सञ्चालन नै हुन सकेका छैनन् । बिजुली अनियमितताका कारण उपकरणहरु बिग्रने, एमसिबी जल्ने, सर्ट सर्किट हुने र तारहरु जल्ने लगायतका प्राविधिक समस्या उद्योगीहरुले झेल्नुपरेको व्यवसायीको गुनासो छ ।
सुनसरी–मोरङ करिडोरमा सानाठूला गरी हाल ६०० बढी उद्योगहरु सञ्चालनमा छन् । ती उद्योगले कूल उत्पादनको करिब ७० प्रतिशत विद्युत खपत गर्ने गर्दछन् । लोडसेडिङका कारण उत्पादनमा ह्रासका साथै अन्य प्राविधिक समस्याहरु पनि उद्योगीहरुले झेल्नुपरेको उद्योगी नन्दकिशोर राठी बताउँछन् । नेपाल विद्युत प्राधिकरणको विराटनगर वितरण केन्द्रको मासिक विद्युत आपुर्ति क्षमता २ करोड ७० लाख युनिट हो । प्राधिकरणको दुहबी ग्रीड शाखाले दैनिक ६० देखि ७० मेगावाट विद्युत विराटनगर वितरण केन्द्रलाई पठाउँदै आएको छ ।
उक्त ग्रिडबाट प्राप्त विद्युत वितरण केन्द्रले रानी, टङ्कीसिनवारी, बाँसबारी तथा कटहरी सब–स्टेशनमार्फत् मोरङका ५ स्थानीय पालिकामा विद्युत आपूर्ति हुँदै आएको छ । वितरण केन्द्रले आफ्ना सब–स्टेशनहरु मार्फत् विराटनगर, कटहरी, जहदा, बुढीगंगा र ग्रामथान गाउँपालिकामा नियमित विद्युत पुर्याउँदै आएको जनाएको छ । यी पाँच पालिकाले मासिक करिब २ करोड ५० लाख युनिट विद्युत खपत गर्दै आएको वितरण केन्द्रको तथ्याङ्क छ । ग्रामीण भेगमा हुकिङ र विद्युत चुहावटको समस्याका कारण प्राधिकरणले मासिक १० देखि २० लाख युनिटसम्मको घाटा व्यहोरिरहेको छ । उद्योगधन्दामा विद्युत आपूर्तिको समस्या पनि त्यसैकारण हुने गरेको वितरण केन्द्रको तर्क छ ।