काठमाडौं। बजारमा व्यापारीहरुले काटेको खसीको प्रतिकिलो पन्ध्र सय रुपैयाँ उठाइरहेका छन् । च्याङ्ग्रा प्रतिकिलो २८ सय रुपैयाँ लिइन्छ । कुखुराको मासुको प्रतिकिलो पाँच सय रुपैयाँ लिइन्छ । त्यस्तै, राँगा, बँगुर र माछाको पनि व्यापारीहरुले आफुखुशी मूल्य तोकेका छन् ।
दशैंमा सबैभन्दा बढी खपत मासुको हुने गरेको छ । तर, माछामासु नै यति महंगो भएपछि आर्थिक अवस्था कमजोर भएका गरिब जनताले कसरी किनेर खानु ? वर्ष दिनमा एक पटक आउन चाडमा पनि महंगीका कारण माछामासु किनेर खान नसक्ने अवस्थामा सर्वसाधारण पुगेका छन् ।

यहाँ कृषकले खसी, बोका, राँगा, च्याङ्ग्रा, कुखुरा, माछाको उचित मूल्य पाउँदैन । बिचौलियाले भने त्यँही खसीबोकाहरु कृषकबाट ल्याएर त्यसको दोब्बरदेखि तेब्बरसम्म नाफा उठाउने गर्छ । यता, अधिंकाश मासु पसलहरु सरकारले बनाएको मापदण्डविपरीत सञ्चालन भएका छन् । मासु पसल जाँदा कहिले मासु नै नखानुजस्तो महसुस हुने गर्छ । मासु काट्ने अचानो वा खुकुरीमा झिँगाको बास हुन्छ त मासु त कहिलेदेखिको बासी हुन्छ । त्यस्तै, मासु पनि फोहोर पानीले धुएको हुन्छ त मासु काट्ने मान्छे जाँडले फिट्टु भएको हुन्छ । सरकारले मासुको मूल्य तोकेको छ । जसका कारण मासुको मूल्य व्यापारीहरुको जिब्रोमा छ । अधिंकाश मासु पसल दर्ता बिना सञ्चालनमा छन् । मासु पसलमा मासुको मूल्यसूची नै राखिएको हुदैँन । तर, सम्बन्धित महानगरपालिका, नगरपालिका, गाउँपालिका वा वडा कार्यालयहरु त्यस्ता मासु पसललाई कारबाही गरेर कानूनको ल्याएरमा ल्याउँदैन । उपभोक्ताहरु भने मासु किन्दा तौलमा समेत ठग्ने गरेका छन् । उनीहरुले राम्रो र ताजा मासु त पाउँदैनन् नै उल्टै भनेजति पैसा तिरेर पनि पाउनुपर्ने मासु पाउँदैनन् । अधिंकाश मासु पसलमा खुलेआम खसीको मासु भनेर बोकाको मासु बेचिरहेको हुन्छ । त्यस्तै, राँगाको मासु भनेर भैंसीकोमासु बेचिन्छ ।

कुखुरा पनि रोग लागेर मरेको बिक्रीवितरण गरिन्छ । आम सर्वसाधारणलाई थाहा हुदैँन कि यो मासु खानयोग्य छ वा छैन भनेर । तर, यसको अनुगमन गर्ने काम त सरकारको हो नि त । जनताको स्वास्थ्यमाथि कुनै खेलबाड हुन नदिनु सरकारको दायित्व हो । सरकार यो पनि पूरा गर्दैन । व्यापारीहरु कहिलेदेखि फ्रिजमा राखेको बासी मासु आफ्नो फाइदाका निम्ति बिक्रीवितरण गरेर नागरिकको स्वास्थ्यमाथि खेलबाड गरिरहेका छन् । यस्ता मासु खाएर मानिसहरुलाई दीर्घकालिन रोग समेत लागिरहेको छ । अर्कोतर्फ, व्यापारीहरुले हतार भयो भन्दै मासुको चोक्टा ठूल्ठुल्ला बनाइदिन्छन् त हाड पनि हालिदिन्छन् । अनि त्यो मासु घरमा ल्याएर पकाएर खाँदा बुढाबुढी, बालबच्चा वा जवान व्यक्तिकै ज्यान जाने गरेको घटना पनि छन् । माछामासु नखाने मानिसले पनिर, दही, दूध, फलफूल, मिठाइ खाने गर्छन् । दही, दूध, पनिर पनि त्यत्तिकै महंगो छ । त्यसमाथि दूध वा दहीमा पानी, पाउटर हाल्ने गरिन्छ ।

मिठाइ पसल पनि बाहिर राम्रो देखेपनि भित्र फोहोरले भरिपूर्ण हुन्छ । बाहिर त खाउखाउ जसरी मिठाइ सजाएर राखिएको हुन्छ तर भित्र हेरेमा जिन्दगीमा नखाउजस्तो हुने गर्छ । त्यस्तै, मिठाइ बनाउने मान्छे पनि फोहोरी हुन्छ । अधिंकाश मिठाइ पसलमा त ताजा मिठाई भन्दै कहिलेदेखि बासी, ढुसी परेको मिठाइ समेत बिक्रीवितरण गरिन्छ । त्योमाथि मिठाइको मूल्य पनि व्यापारीहरुले आफुखुशी लिन्छन् । तौल भने कम हुन्छ । मिठाइ र दहीदूध पसलहरु दर्ता बिना सञ्चालन भएका छन् । उनीहरु एकातिर राज्यलाई राजस्व छल्छन् त अर्कातिर उपभोक्तालाई ठग्छन् । यसैगरी, फलफूल पसलहरु पनि दर्ताबिनै सञ्चालन भएका छन् । फलफूल पनि विषादीले भरिपूर्ण हुन्छ । व्यापारीले भनेजति पैसा तिरेर आज घरमा ल्याएको फलफूल भोलिपल्ट कुहिएर गनाइरहेको हुन्छ । दशैंमा पिय पदार्थको पनि त्यत्तिकै उपभोग हुने गर्छ । कोक, फान्टाजस्ता पिय पदार्थको आफुखुशी पैसा लिएर सर्वसाधारण ठगेका छन् व्यापारीहरुले । हुन त यस्ता पदार्थ खानयोग्य पनि छैन । यता, मदिरा पनि बाहिरबाट ब्राण्डको एउटा स्टिकर टाँसेर महंगो मूल्य लिएपनि खानयोग्य छैन, गुणस्तरहीन छ । अहिले बजारमा हरेक सामानको मूल्यवृद्धि भएको छ । चाहे त्यो हरियो सागसब्जी, गेडागुडी, खाने तेल, दाल, चामलमा होस् या माछामासु, दहीदूधमा होस् ।
मानिससँग आम्दानी छैन । रोजगारीको अभाव छ । पैसा हुनेहरु अहिले बजारमा किनमेलका लागि निस्किएका छन् । तर, पैसा नहुनेहरु आफ्नो घरभित्र नाउरो अनुहार लगाएर बसेका छन् । उनीहरु त दशैं मान्न पैसा नभएर गाउँघर समेत गएका छैनन् । अहिले बजारमा हेर्ने हो भने केही पसलहरुमा चहलपहल देखिन्छ । माछामासु, फलफूल, दूहदही पसलमा मानिसको चहलपहल बढेको छ ।

सिमेन्ट पसल, हार्डवेयर पसल, कपडा पसल, ब्युट्री पालरहरुमा भने एक जना पनि मानिस देखिदैँन । यी पसलमा त कहिलेकाँही बहनी समेत हुदैँन । पहिलापहिलाका मानिसहरुले धेरै खेतबारी भएको व्यक्तिलाई छोरी दिन्थे । चाँहे त्यो केटा नपढेको होस् या बेरोजगार नै होस् । राम्रो खेतबारी भएको देखेपछि भोलि खेतीपाती गरेर भएपनि आफ्नो छोरीलाई केटाले पाल्न सक्ने मानिसको सोचाइ थियो । अहिले यसको ठिक उल्टो भएको छ । कि धेरै पढेर जागिर खाएको मान्छेलाई छोरी दिइन्छ कि त ठूलो व्यापारीलाई दिइन्छ । धेरै खेतबारी भएको घरमा आफ्नो छोरीको बिहे गरिदिए दुःख पाइन्छ भनेर अधिंकाश अभिभावकले सरकारी जागिर खाएका वा व्यापारव्यवसाय गर्ने व्यक्तिलाई छोरी दिने गरेको छ । सानैदेखि निजी विद्यालय पढेकाहरु त देश छोडेर अमेरिका, अस्ट्रेलियामा गइहाले । अलिकति पढेका मानिस कि त खाडी मुलुक गए कि त व्यापारव्यवसायतिर लागे । खाडी मुलुकहरुमा पनि मन्दीका कारण तलब नदिइएको वा त्यति आम्दानी नरहेको बताइन्छ । अहिले त सरकारी जागिर खाएकाहरु पनि तलबविहीन हुनुपर्ने अवस्था आएको छ ।

सरकार सरकारी खर्च धान्न नसक्ने अवस्थामा पुगेको छ । काठमाडौं उपत्यकाभित्र वा सदरमुकाममा चार दशकअघि बिसौं रोपनी जग्गाजमिन भएको व्यक्ति आज रोपनीमा झरेको छ । बाटोका कारण उनीहरुले आफ्नो जग्गा गुमाउनुपप्यो । यता, घरजग्गा कारोबारमा मन्दी आएपछि योसँग जोडिएका व्यवसाय र व्यवसायी पनि संकटमा परेका छन् । पहिलापहिला मानिसहरुलाई आफ्रनै घरमा उब्जनी भएको अन्नले वर्ष दिन खान पुग्थ्यो । खसीबोका, कुखुरा र गाईवस्तु आफ्रनै घरमा पालेको हुन्थ्यो । यसले दशैं आउँदा बाहिरबाट केही सामान किन्नु पर्दैन थियो । दशैंमा नयाँ कपडा मात्र किनिन्थ्यो । तर, अहिले त मानिसहरुले त्यस्ता खेतीयोग्य जमिन बेचेर ब्याजको प्रलोभनमा सहकारीमा जम्मा गरे । कतिपय नाफा हुन्छ भनेर घरजग्गा, गाडी र सेयरमा लगानी गरे । खेतीयोग्य जमिनको खण्डीकरण गरेर व्यापार गरियो । जसको परिमाण पछिल्लो समय देखिदैँ छ । जग्गा दलालीहरुले रोपनीको दश हजारमा खेतीयोग्य जमिन किनेर खण्डीकरण गरी आनाकै करोडमा बेचे । खेतीयोग्य जमिन सबै खण्डीकरण गरेर सकिएपछि खाद्यान्न कताबाट फलाउनु ? पहिलापहिला प्रत्येक मानिसको एउटा घर हुन्थ्यो त एउटा मतान हुन्थ्यो । त्यस्तै, ठूलो आँगन पनि हुन्थ्यो । मतानमा गाईवस्तु पालिन्थ्यो ।

हिजो चालिसो रोपनी हुने व्यक्तिसँग आज दुई÷तीन आना जग्गा छ । मानिसहरुले पहिला आफ्रनै घरमा पालेको दुई÷तीन वटा खसीबोकाले दशैं मनाउन्थे । अहिले त खसीबोका, कुखुरा पाल्ने ठाउँ नभएपछि मानिसहरु एक किलो मासुले दशैं मान्छन् । छिटो धनी बन्ने आशमा मानिसले आफ्नो धनसम्पत्ति त गुमाए त बाउबाजेको सम्पत्ति समेत सकाए । अहिले उनीहरुसँग न त धनसम्पत्ति छ न त पैसा नै छ । हाम्रो समाजमा भनिन्छ, हतार गरेमा भएको काम समेत बिग्रिन्छ, सोचविचार गरेर गरेमा बिग्रेको काम समेत सप्रिन्छ । तर, अहिलेका मानिसहरुलाई काम थालेको एक वर्षमै घर बनाउनुपर्छ, चिल्लो गाडी चढ्नुपर्छ, बालबच्चा महंगा स्कुलमा पढाउनुपर्छ र गरगहना लगाउनुपर्छ । यसरी छिटै कमाउनका लागि मानिसले मानिसलाई ठग्ने काम बढेको छ । हरेक क्षेत्रमा लुट्ने काम भइरहेको छ । सरकारी कर्मचारी र व्यापारीहरु ठग्न, लुट्न र भ्रष्टाचार गर्नतर्फ मात्र केन्द्रित भएका छन् । त्यस्तै, राजनीतिक दलका नेताहरु जसरी भएपनि जनतालाई झुक्याएर अर्को पार्टीको खुट्टा तानेर सत्तामा पुग्न चाहन्छन् ।

राजनीतिक दलका नेतादेखि सरकारी कर्मचारी, व्यापारी सबै ठग भएका छन् । कसैले यहाँ कानून मानेको छैन, कसैले आफ्नो दायित्व पूरा गरेको छ । सबैजना आफ्नो अधिकार खोस्न मात्र आएका छन् । पशुपति शमशेरले लुट्न सके लुट कान्छा, नेपालमै छ छुट भनेर गीत त गाए । तर, अधिंकाश कलाकारले खेलेका फिल्म, गीत र भिडियोबाट आमजनमासमा नराम्रो कुरा पनि फैलिएको छ । अर्कोतर्फ कलाकारहरुले पनि राज्यलाई राजस्व तिरेका छैनन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

twenty − 6 =