काठमाडौँ
बच्चाले कहिले पनि झुठा कुरा बोल्दैँन । अभिभावकले आफ्ना बालबच्चालाई झुठा कुरा बोल्न लगाएपनि बच्चाहरु त्यो बिर्सिएर सत्य नै बोल्छन् । घरमा केही घटना घटेमा पनि प्रहरीले पनि त्यो घरको बालबालिकासँग सोधपुछ गर्ने गर्छ । त्यसैको आधारमा फाइल तयार पार्छ र घटनाबारे सत्यतथ्य बाहिर ल्याउँछ ।
बालबालिकाहरु जे देख्यो वा सुन्यो, त्यँही बोल्छन् । उनीहरुलाई यो बोल्दा अरुलाई घाटा वा क्षति हुन्छ भनेर थाहा हुदैँन । यसपालिको दशैंमा अधिंकाश बालबालिका निराश भएका छन् । अभिभावकहरुले खसीबोका ल्याएर घरमा काटेनन् न त नयाँ कपडा नै किनिदिए वा टीका लगाइदिएर दक्षिणा नै राम्रो दिए भनेर उनीहरु रिसाइरहेको देखिन्छ ।
आफुलाई चाहिएको सामान आमाबुबाले नकिनिदिएको र पछि किनिदिन्छु भन्दै फर्काएको भनेको समेत बालबालिकाकै मुखबाट सुनिन्छ । अर्कोतिर मावली वा आफन्तको दशैं टीका लगाउन जाँदा अघिल्ला दशैंझैं दक्षिणा र खानेकुरा खान नपाएको उनीहरुको गुनासो छ । कतिपय अभिभावकहरु नै अघिल्लो दशैंमा टीका लगाएर हजार–दुई रुपैयाँ दिने गरेकोमा यसपालि पाँच रुपैयाँ दिएको भनिरहेको समेत सुनिन्छ ।
त्यस्तै, कतिपय त मिठा खानेकुरा समेत खान नपाएको गुनासो गरिरहेको भेटिन्छन् । खसीबोका र च्याङ्ग्रा बिक्री नभएपछि व्यापारीहरुले मूल्य घटाइरहेका छन् । फलफूल, दहीदूध, मिठाई, मासु पसलहरु पनि पहिलाजस्तो व्यापार नभएको बताउँछन् । मदिरा पसलेहरु पनि व्यापारमा गिरावट आएको बताउँछन् ।
यसपालिको दशैंमा लुगा पसल पनि सुनसान हुन पुग्यो । दशैंमा राम्रो कमाइ भएको भनेकै हवाई जहाज, सार्वजनिक यातायातको हो । दशैंमा यात्रुसँग दोब्बर भाडा लिएर उनीहरुले हवाई टिकट बिक्रीवितरण गरे । यातायात व्यवसायी र ट्याक्सी व्यवसायीहरुले दशैंमा कमाउनु कमाए । तीन हजारमा पुग्ने बाटोमा यातायात व्यवसायीले यात्रुसँग पाँचहजार असुले त ट्याक्सी व्यवसायीहरुले एक किलोमिटरमा हजार रुपैयाँ लिए । जबकी भाडा सय रुपैयाँ हो ।
दशैंमा टीका लगाउन जाँदा समेत हातको झोला हेरिन्छ । झोला ठूलो भएको देखेमा मात्र राम्रो बोलीबचन, मिठो खाना र दक्षिणा दिने गरिन्छ । दशैं मान्न गाउँघर गएकाहरु धमाधम उपत्यका फर्किएका छन् । तर, कतिपयहरु कोठा भाडा तिर्न नसकेपछि, व्यापारव्यवसायमा मन्दी आएपछि वा रोजगारी नभएपछि यता नफर्की गाउँमै बस्ने विचारमा छन् ।
दशैं मान्न गाउँघर गएकामध्ये कतिपय घरधनीहरुलाई हामी आउँदैनौं, कोठा र सटरको सामान आफैं राख्नुस्, हामीसँग भाडा तिर्ने पैसा छैन भनेर फोन गरेर भनिरहेको पनि पाइन्छ । दशैंपछि उपत्यकाभित्र तथा बाहिर धेरै कोठा, फ्रल्याट र सटर खाली हुने निश्चित छ । गाउँबाट फर्किएका मानिसहरु दशैं पहिलाजस्तो रमाइलो नभएको भन्छन् ।
अधिंकाशले दशैं मनाउन गाउँघर जानका लागि ऋणसापटी लिएका थिए । अहिले उनीहरुलाई त्यो ऋण कसरी तिर्ने भन्ने चिन्ता छ । अर्कोतिर बालबच्चाको विद्यालयको फिस कसरी तिर्नु भनेर पनि उनीहरु अन्योलमा परेका छन् । गाउँबाट फर्किएका कतिपय मानिसहरु सार्वजनिक यातायातमा एक अर्कोसँग भनिरहेका हुन्छन्, ‘तीन महिनादेखि भाडा तिरेको छैन । कोठामा पुग्नेबित्तिकै घरधनी भाडा माग्न आइपुग्छ । कसरी तिर्ने होला ।’
दशैं मान्न गाउँघर जानका लागि आफुले काम गर्दै आइरहेको ठाउँमा साहुले तलब नदिएपछि कतिपयले त काम नै छोडेका थिए । अहिले दशैं मानेर उनीहरु गाउँबाट त फर्किए । तर, उनीहरुसँग काम छैन । काम नभएपछि कसरी खानु र कसरी कोठा भाडा तिर्नु । पछिल्लो समय विभिन्न संघसंस्था, पसल, होटल, रेस्टुरेन्ट तथा साहुहरुले मन्दी भयो भन्दै धेरै श्रमिकलाई कामबाट निकालेको पाइन्छ ।
अब यहाँ के काम पाउँछ र बस्ने ? काम नभइकन कसरी बालबालिका पढाउनु ? कसरी कोठा भाडा तिर्नु ? अनि के खानु ? दशैंअघि नै उपत्यकालगायत मुलुकभर धेरै कोठा, फ्रल्याट र सटर खाली भएका थिए । अब भाडा तिर्न नसकेपछि झन्ै मानिसहरुले कोठा, फ्रल्याट र सटर छोड्ने छन् । हिजो घरजग्गा, गाडी र सेयरको काम गरी बीचमा बसेर नाफा कमाउने दलालीहरुको पनि आज भागाभाग चलेको छ ।
अब काठमाडौं उपत्यकामा मानिसहरु किन फर्किने ? हिजो पो यहाँ रोजगारीको अवसर पर्याप्त थियो । व्यापारव्यवसाय फस्टाएको छ । घरजग्गा, गाडी र सेयर कारोबार पनि उत्तिकै हुन्थ्यो । अहिले त यसको ठिक विपरीत छ । सबैतिर मन्दीको प्रभाव परेको छ । काम गरेको ठाउँबाट तीन महिनादेखि दुई वर्षसम्मको तलब नदिइएको पनि सुनिन्छ ।
नेपालका अर्बपति वा उद्योगपति विनोद चौधरीले पनि आफ्ना श्रमिकहरुलाई दशैं पेस्की र तलब नदिएको सुनिन्छ । घरजग्गा कारोबारमा मन्दी आएपछि जग्गा किनेर घर बनाउने संख्या पनि शून्यझैं भएको छ । घर नबनेपछि ज्यामी काम पनि पाइन्न । त्यस्तै, सिमेन्ट, डण्डी, ढुंगा, इट्टा, गिट्टी, बालुवा, रोडा पनि बिक्रीवितरण हुदैंन ।
हार्डवेयर पसलहरु भाडा तिर्न नसकेर धमाधम बन्द हुन थालेका छन् । बजारमा पाँच सय र हजारको नोट हाहाकार भइसकेको छ । दुई वर्षअघि ज्यालादारी गर्दा दिनको हजार रुपैयाँ पाइनेमा अहिले पाँच सयमा गर्छुभन्दा समेत पाइदैँन । पसल पनि बिहानै खोलिन्छ तर बेलुकासम्म बहनी हुदैँन ।
भाडा तिर्न नसकेपछि, कामदारलाई तलब दिन नसकेपछि, बैंकबाट लिएको ऋण तिर्न नसकेपछि र राज्यलाई राजस्व तिर्न नसकेपछि अधिंकाशले व्यापारव्यवसायबाट सन्यास लिन थालेका छन् । मालपोत र यातायात कार्यालयमा पनि मन्दीको नराम्रो असर परेको छ । दिनमाएउटा समेत घरजग्गा र गाडी नामसारी हुन्न ।
सार्वजनिक सवारीसाधनमा आधा किलोमिटर चढ्नेबित्तिकै २५ रुपैयाँ तिर्नुपर्छ अनि एक किलोमिटर चढ्दा ट्याक्सी व्यवसायीले हजार पनि असुल्छ । अहिले एक बोरा चामल पाँच सयदेखि हजार रुपैयाँसम्म महंगिएको छ । अन्य खाद्यान्न सय रुपैयाँदेखि तीन सयसम्म बढेको छ । घरधनीहरु एउटा कोठाको दश हजारदेखि २० हजार, एक फ्रल्याटको २० हजारदेखि ५० हजार र एउटा सटरको ५० हजारदेखि ११ लाखसम्म असुल्छन् त्यो पनि मासिक ।
गाडी चढ्न नपाइ सहचालक भाडा माग्छ, पसलमा सामान माग्नुअघि व्यापारी पैसा माग्छ त घरधनी महिना मर्नुअघि भाडा माग्छ । फेरि काम गरेको ठाउँमा महिना मरेपछि पनि तलब दिइदैँन । तलब मागे कामबाटै निकालिदिइन्छ । घरधनी र यातायात व्यवसायीहरु महिनैपिच्छे भाडा बढाउँछन् । व्यापारीहरु पनि हप्तैपिच्छे सामानको मूल्य बढाउँछन् ।
सरकार श्रमिकलाई अनिवार्य मासिक १७ हजार तीन सय रुपैयाँ तलब दिनुपर्ने, दशैं पेस्की र उपचार खर्च दिनुपर्ने निर्णय गरी कानून बनाउँछ । तर, साहुहरु श्रमिकलाई न समयमै तलब दिन्छन् न त दशैं पेस्की र उपचार खर्च । काम भने बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म लगाइन्छ । तलब चाँहि ५ हजारदेखि १५ हजार दिइन्छ ।
अहिले युवाहरु नागरिकता र पासपोर्ट बन्नासाथ खाडी मुलुक उड्छन् । त्यस्तै, अघिल्लो दिन बिहे गरेर भोलिपल्ट श्रीमान विदेश उड्छ त भर्खरै जन्मिएको बच्चालाई हजुरबा, हजुरआमाको काखमा छोडेर आमा विदेश उड्नुपर्ने बाध्यता छ हाम्रो देशमा । नेपालमा मन्दी छाइसक्यो, आर्थिक संकट आइसक्यो भनेर सबैले थाहा पाइसकेका छन् ।
त्यसैले पनि बाठाटाठाले बैंक तथा वित्तिय संस्थामा आफुले जम्मा गरेको रकम घरमा लुकाएका छन् । दशैंमा जसोतसो व्यापारव्यवसाय गरेर कमाएको रकम पनि व्यापारीहरुले बैंकमा जम्मा गरेनन् । आआफ्नो घरमै लुकाए । बुढोपकाले भन्थे, ‘झुठो कुरा टिक्दैँन, सत्य लुकाएर लुक्दैँन ।’
राजनीतिक दलका नेताहरु अहिले पनि मुलुकको अर्थतन्त्रमा सुधार आइसकेको भन्दै जनतालाई भ्रममा पारिरहेका छन् । बजारको अवस्थाले व्यापारव्यवसायलगायत सबै क्षेत्र डुबिसकेको देखाउँछ । राजनीतिक दलहरुले कतिन्जेल जनतालाई ढाँटेर वा भ्रममा पारेर राजनीति गरिरहने ? प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा.प्रकाशशरण महत र राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी कतिन्जेल जनतालाई झुठा आश्वासन देखाएर कुर्सीमा बसिरहने ?
नेपाल सरकारले २५ खर्ब विदेशी ऋण लिइसकेको छ । प्रत्येक नेपालीको टाउकोमा ९० हजार विदेशी ऋण छ । अहिले जनताले राज्यलाई कर तिर्न छोडेका छन् । त्यसकारण अब सरकारले कसरी सरकारी खर्च धान्छ ? कसरी विदेशीसँग लिएको ऋणको साँबाव्याज तिर्छ ? अनि सरकारी कर्मचारीलाई मासिक तलबभत्ता र सेवासुविधा उपलब्ध गराउँछ ?
विज्ञ, अर्थविद्हरु सरकारी कर्मचारी र जनप्रतिनिधिलाई दिइने तलबभत्ता र सेवासुविधा कटौती गर्नुपर्ने बताउँछन् । देश नेता र सरकारी कर्मचारीले बेचिसकेका छन्, जनता टुलुटुल हेरेर बसेका छन् । सरकारको आम्दानीको स्रोत केही छैन । नेपालको भूमि पनि छिमेकी मुलुक भारत र चीनले कब्जा गरिसकेको छ । अझै नेपाली सेना जनताले तिरेको करबाट तलब खाएर ब्यारेकभित्र बसेका छन् ।
अहिले जनता आर्मी हटाउनुपर्ने माग राख्छन् । आर्मी र करार कर्मचारी हटाए मुलुकको आर्थिक भार निकै कम हुने बताइन्छ । देश राजनीतिक दलका नेता र सरकारी कर्मचारीको मात्र होइन । सम्पूर्ण नेपाली जनताको हो । त्यसैले, अब देश बेचेर तलबभत्ता खान पाइन्न, जनता सडकमा उत्र्रिनैपर्छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

3 × 4 =