काठमाडौं । विधायन व्यवस्थापन समितिले विद्युतीय व्यापारसम्बन्धी विधेयक–२०८० को प्रतिवेदन समितिको आगामी बैठकमा पेस गर्न सचिवालयलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकको निर्णय सुनाउँदै समिति सचिव मनोजकुमार गिरीले विधेयकको सम्बन्धमा दफावार छलफल सम्पन्न भएको भन्दै आगामी बैठकमा छलफलका लागि प्रतिवेदन पेस गर्न निर्देशन दिएको बताए ।
उनले भने ‘विद्युतीय व्यापारसम्बन्धी विधेयक, २०८० को सम्बन्धमा समितिले आज दफावार गरेको छ । सचिवालयलाई आगामी बैठकमा छलफलकालागि पेस गर्ने गरी प्रतिवेदन तयार गर्न निर्देशन दिने निर्णय भएको छ ।’ सचिव गिरीले सम्बन्धित निकाय, सम्बन्धित मन्त्रालय र कानुन मन्त्रालयसँगको समन्वयमा समिति सचिवालयले प्रतिवेदन तयार गर्ने र आगामी बैठकमा त्यसमाथि छलफल भई पारित हुने बताए ।
उनले भने, ‘सम्बन्धित निकाय, सम्बन्धित मन्त्रालय र कानुन मन्त्रालयसँगको समन्वयमा समिति सचिवालयले प्रतिवेदन तयार गर्छ अब र त्यही प्रतिवेदनलाई सम्भवत कात्तिक १६ गते बस्ने समितिको बैठकमा त्यसमाथि छलफल हुन्छ र पारित हुन्छ ।’