काठमाडौं। दुई करोड ९१ लाख ६४ हजार ५७८ जनताको अभिभावक सरकार हो । नेपाल सरकार अहिले हाँसेर बसेको छ भने जनता रोइरहेका छन् । गरिबी, बेरोजगारी र महंगीका कारण खान नपाएर जनता भोकभोकै बस्छन्, मागेर हिँड्छन् । शिक्षा, स्वास्थ्य, रोजगार अवसर लगायतबाट उनीहरु वञ्चित छन् । जबकी यो उनीहरुको हक, अधिकार हो । जनताको खुट्टामा चप्पल छैन, जिउमा राम्रो कपडा छैन भने बस्नलाई बास छैन । उनीहरु खान नपाएर भोकभोकै भौतारिएका छन् । खुट्टामा राम्रो चप्पल नलगाए पनि वा मिठो खान नखाए पनि जनता सरकारलाई कर तिर्छन्, राजनीतिक दललाई मतदान गर्छन् । उनीहरु आफ्नो कर्तव्य, जिम्मेवार र दायित्व पूरा गर्छन् ।
यति सम्म कि मुलुकको भूमि पनि जनताले नै सुरक्षा गर्छन् अनि विदेशी ऋण पनि बोक्छन् । नेपाल सरकार देश धितो राखेर विदेशीसँग ऋण लिन्छ । हालसम्म सरकारले विदेशीसँग २६ खर्ब ऋण लिएको पाइन्छ । प्रत्येक नेपालीको टाउकोमा लाखौं विदेशी ऋण छ । तर, त्यो ल्याएको ऋणमा भने सरकारमा बस्नेहरु मोजमस्ती गरिरहेका छन् । अहिले सरकारी कर्मचारी र राजनीतिक दलका नेताहरु जनताले तिरेको कर वा भ्रष्टाचार गरेर सुकिलामुकिला भएर हिँडेका छन् । सर्वसाधारण जनता भने घरमा भोकका कारण रोएर बसेका छन् । प्रत्येक घरमा आर्थिक समस्या छ । जनताको घरको भान्छामा चुलो बल्न सकेको छैन । कोही मीटर ब्याजबाट पीडित भएका छन् त कोही बैंक तथा वित्तिय संस्थाको ऋणबाट । त्यस्तै, आफुले जीवनभर खाई नखाई गरेर राखेर रकम सहकारीले खाइदिँदा पनि अधिंकाशको उठीबास भएको छ । व्यापारव्यवसायमा आएको मन्दीका कारण पनि त्यत्तिकै मानिसहरु पीडामा परेका छन् भने कोही कोठा, सटर र फ्रल्याट भाडा तिर्न नसकेर चिन्तित छन् ।
फेरि कोही काम नपाएर पीडित छन् भने कोही काम भएपनि तलब नपाएर पीडित छन् । घरजग्गा, गाडी र सेयरमा लगानी डुबेपछि पनि अधिंकाशको भोक र निन्दा हराएको छ । कतिपय अभिभावकहरु आफ्ना छोराछोरी अमेरिका, अस्ट्रेलियाबाट नफर्किएपछि पीडामा छन् भने कतिपय खाडी मुलुकमा गएका आफ्ना छोराछोरी गुमाएर पीडामा छन् । यसैगरी, आफ्नो परिवारको कोही सदस्य वा आफन्त जेलमा परेर पनि कोही चिन्तित छ भने उपचार गर्ने पैसा नहुँदा पनि अधिंकाश पीडामा छन् । ७७ ओटै जिल्लाका जनताहरु विभिन्न समस्यामा छन् । बिडम्बना, सरकारमा बस्ने राजनीतिक दल र सरकारी कर्मचारीहरुको यसतर्फ चासो छैन । वर्ष दिनमा आउने दशैंमा समेत जनताको ओठमा हाँसो आउँदैन । उनीहरुलाई के–कसरी खर्च जुटाउने भन्ने नै चिन्ता हुन्छ । तर, सत्तामा बस्ने राजनीतिक दलका नेता र सरकारी कर्मचारीहरुलाई जहिल्यै दशैं आइरहेको छ । उनीहरुकोे घरमा खानाको केही कमी हुदैँन भने देश–विदेश घुमिरहन्छन् त्यो पनि जनताले तिरेको करमा । मुलुकको ७७ ओटै जिल्लालाई नेपालको भूमि भनेर चिनिन्छ । ७७ ओटै जिल्लामा बस्ने नागरिकले नेपाली नागरिकता लिएका छन् । तर, उनीहरु राजनीतिक दलमा आबद्ध छन् । यहाँ त जनता नै आफ्नो मातृभूमिप्रति जिम्मेवार हुन सकेका छन् ।
पार्टीको लागि भन्दै आफ्नो मुलुकको प्रतिष्ठामा नै आँच आउने काम गर्ने गरेको पनि पाइन्छ । हाम्रो देशको अधिंकाश भूमि छिमेकी मुलुक भारत र चीनले कब्जा गरिसकेको छ । सरकारी कर्मचारी र राजनीतिक दलका नेताहरुले पनि विदेशी ऋण लिएर देश बेच्न लागिसकेका छन् । आर्थिक मन्दीका कारण बजारमा चहलपहल छैन । व्यापार व्यवसाय ठप्प भएको छ । दिनभरमा बहनी समेत नहुने व्यापारीहरु बताउँछन् भने झण्डै ७० प्रतिशत कोठा, सटर र फ्रल्याट खाली भएका छन् । बजारमा पाँच सय र हजारको नोट देखिन छोडेको छ । करोड मूल्य पर्ने घरजग्गा लाखमा झरेको छ भने ३५ सयको सेयर सय रुपैयाँमा झरेको छ । त्यस्तै, गाडीको पनि यही हालत छ । मुलुकभर दर्तामा रहेका ३५ हजार बढी सहकारीले करोडौं बचतकर्ताको खर्बो रकम खाइदिएको छ भने ५९ लाख जनताको सेयरमा लगानी डुबेपछि रुवाबासी चलेको छ । करोडौं जनता घरजग्गा र गाडीको मूल्य घटेर मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । बाचौं ऋणले च्यापेको छ, ऋण तिरौं पैसा छैन । सरकारी कर्मचारी र राजनीतिक दलका नेताहरु कालो सिसा भएको सरकारी गाडीमा हुइकिइ रहेका छन् । बिहान बेलुकाकै छाक टार्न हम्मेहम्मे परेपछि जनताले पनि राज्यलाई कर तिर्न छोडेका छन् । सबैभन्दा बढी राजस्व संकलन हुने यातायात, मालपोत र भन्सार कार्यालयबाट पनि राजस्व उठ्न छोडेको छ ।
बैंक तथा वित्तिय संस्था टाट पल्टिएका छन् । जनताले बैंकमा बचत गर्न छोडिदिएका छन् । बैंकले कर्मचारीको तलब दिन नसकेको वा बचतकर्ताको रकम फिर्ता नगरेको पनि गुनासो सुनिन्छ । देशमा रोजगारीको अवसर नभएपछि दिनमा हजारौं नेपाली युवाहरु खाडी मुलुक उडेका छन् । अहिले बजारमा मुलुकको अर्थतन्त्र श्रींलका भइसकेको बताइन्छ । जनता आफुहरुको विरोधमा सडकमा उत्र्रिन्छन् र लखेट्छन् भनेर राजनीतिक दलका नेता र सरकारी कर्मचारीहरुलाई पीर परेको छ । जनता आफ्नो मातृभूमि बचाउन सडकमा आउनबाट रोक राजनीतिक दलका नेता र सरकारी कर्मचारीहरुले सञ्चार माध्यमको प्रयोग गरेर भ्रम पैदा गर्दै आएका छन् । नेपाली सेना पनि न आफ्नो मातृभूमिको सुरक्षा गर्न सक्छ न मुलुकको अर्थतन्त्र डामाडोल भयो भन्दै तलबभत्ता नै त्याग्छन् । आर्मी देश र जनतामाथि बोझ बनेको छ । अहिले सर्वसाधारण जनताले आर्मी हटाउनुपर्छ भनेर आवाज उठाउन थालिसकेका छन् । अब पनि रगतपसिना बगाएर जनताले तिरेको करबाट आर्मी पाल्न सकिदैँन ।
जनता सरकारी कर्मचारीको तलबभत्ता कटौती गर्नुपर्ने र सरकारी गाडी दिनुनहुने बताउँछन् । त्यस्तै, करार सेवामा रहेका कर्मचारी पनि हटाउनुपर्छ । विभिन्न संघसंस्था, होटल, रेस्टुरेन्ट, पसल लगायतमा काम गर्नेहरुलाई कम्पनी तथा साहुले तलब दिन नसकेर धमाधम निकालेको छ । हिजो एउटै कम्पनी, होटल र रेस्टुरेन्टमा सयौं मानिसले काम गर्थे । आज तलब दिन नसकेर वा मन्दीका कारण कम्पनी नै बन्द भएपछि ती सयौं मानिस बेरोजगार भएका छन् । दुई वर्षअघि एक दिनको ज्याला हजार–दुई हजार दिन्छु भन्दा समेत कामदार पाइदैँन थियो । अहिले त दिनको पाँच सय मात्र ज्याला दिनुस् भन्दा समेत काम पाइदैँन । नेपालको ९० प्रतिशत खेतीयोग्य जमिन घर र बाटो बनाएर मासिसकेको छ । यसले गर्दा मुलुकमा भोकमरीको संकेत देखिएको छ । अहिले न घर भाडामा जान्छ न कोठा, सटर र फ्रल्याट । सबै घर खाली छन् । भाडामा बसेकाले समेत भाडा तिर्न सकेका छैनन् । घर भाडामा लगाएर महिनामै लाखदेखि करोड आम्दानी गर्ने भन्दै बैंक तथा वित्तिय संस्थाबाट महंगो ब्याजमा कर्जा लिएर मानिसहरुले घर बनाए ।
अहिले घर भाडामा नगएपछि त्यो ऋण कसरी तिर्नु भनेर घरधनीहरु चिन्तित छन् । एकातिर बैंकको ऋण तिर्न पैसा छैन, अर्को घर बिक्री हुन्न । फेरि घर भाडामा नगएपछि इट्टा, डण्डी र फलाम टोक्न पनि मिल्दैन । यसले एकले अर्कोलाई लुट्ने र चोर्ने बाहेक अन्य विकल्प छैन ।
बेरोजगार भएपछि खान पाइदैँन । फेरि भोकले मानिसलाई लुट्न देखि हत्या गर्न समेत सिकाउँछ । जसले गर्दा अब लुटपाट, चोरी र हत्याहिंसाका घटना दिन प्रतिदिन बढ्नेछ । तर, सबै नागरिक यस्तो क्रियाकलापमा संलग्न भएपछि सरकारले पनि कति जनालाई समात्ने ? कतिन्जेल उनीहरुलाई जेलमा पाल्ने ? विदेशीले सस्तो ब्याजमा ऋण दिन छोडेको छ । अनुदान पाइन्न । अब सरकारले विदेशीसँग लिएको ऋणको साँवाब्याज कसरी तिर्छ ? सरकारी खर्च कसरी धान्छ ? देश कसरी विकास गर्छ ? सरकारको आम्दानीको स्रोत केही छैन । किनकि मुलुकमा उद्योग, कारखाना छैन । राजनीतिक दलहरुले मुलुक यस्तो अवस्थामा पुप्याउँदा समेत हामी जनता कोही आफुलाई यो पार्टीको बताउछौं त कोही आफुलाई राजावादी भन्छौं । मुलुक विदेशी ऋणमा फसिसकेको छ भनेर जनतालाई थाहा छैन । जनता पार्टीको कार्यकर्ता बन्नमै व्यस्त छन् भने सरकारी कर्मचारी र राजनीतिक दलहरुले देश बेचिसके । श्रींलकाको जनतामा सचेतना थियो । उनीहरु शिक्षित थिए । जसले गर्दा मुलुकमा आर्थिक मन्दी आउनेबित्तिकै उनीहरु सडकमा उत्र्रिए । राष्ट्रपतिलाई देशबाटै लखेटे अनि आफ्नो देश बचाए ।
नेपाली जनता त न राष्ट्रपतिलाई लखेट्न सक्छन् न प्रधानमन्त्री र राजालाई । उनीहरु राजनीतिक दलका कार्यकर्ता भएर बसेका छन् । जनता सडकमा उत्र्रिदैँनन्, अनि यसकै फाइदा उठाएर राजनीतिक दलहरुले देश बेच्न थालिसके । सोमबार र बिहिबार मन्त्रिपरिषद्को बैठक बसिन्छ, विदेशी ऋण स्वीकृत गरिन्छ ।
त्यो ऋणले सरकारी कर्मचारी र जनप्रतिनिधिलाई तलबभत्ता र सेवासुविधा उपलब्ध गराइन्छ । यस्तो हुँदा समेत जनताको आँखा खुल्दैँन । अहिले नेपाल कसले लिने भनेर विदेशी देशबीच होड चलेको छ ।