काठमाण्डौ
यही कार्तिक १७ गते राती ११ः४७ बजे जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पले हालसम्म जाजरकोट र रुकुम पश्चिममा ठुलो जनधनको क्षति गरेकोमा नेपाल सुशासन पार्टीले दुख ब्यक्त गरेको छ । सुशासन पार्टीले प्राकृतिक विपत्तिको यस मारमा ज्यान गुमाउने अवोध नागरिकहरु प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । उसले भनेको छ,’नागरिकहरु अकाल मृत्यु र पीडाले छटपटाउँदा सरकार र राज्य व्यवस्था भने अर्को दिन विहानसम्म वेखवर रहेको जस्तो प्रतित हुन्थ्यो । यस्तो विपत्तिको घडीमा समयमा नागरिकले सरकारको उपस्थिति नदेख्नु गम्भीर चिन्ता र आपत्तिको विषय हो । प्राकृतिक प्रकोपमा तत्काल उद्धार र राहत प्रदान गर्नु पर्ने राष्ट्रिय दायित्वलाई तदारुकताका साथ तत्काल पुरा गर्नु पर्ने हामी सबैको जिम्मेवारी रहेको छ ।’
तत्काल उद्धार र राहतको कार्यलाई युद्धस्तरमा सम्पन्न गर्न र त्यस लगत्तै पुनःस्थापनाको कार्य पनि संचालन गरी पीडित नागरिकहरुलाई राज्यको उपस्थितिको आभाष दिलाउन सरकार लगायत सरोकारवाला सम्बन्धित सबैमा हार्दिक सुशासन पार्टीले अपिल गरेको छ। ।
साथै, नेपाल सुशासन पार्टीको आकस्मिक बैठकले भूकम्प प्रभावितहरुलाई तत्काल राहत स्वरुप २०० (दुई सय) थान ब्लाङ्केट उपलव्ध गराउने निर्णय गरेको छ। महासचिव गोबिन्द गिरी द्धारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ।