काठमाडौं । अनुसन्धानकर्ता जय साहले नेपाललाई शतप्रतिशत ‘क्यासलेस’ बनाएर भ्रष्टाचारमुक्त बनाउन सकिने दाबी गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी साहले आफूले अनुसन्धान गरेर ‘द कल्किस्ट मेनिफेस्टो’ नामक पुस्तक तयार पारेको बताए ।

उक्त पुस्तक नेपाललाई भ्रष्टाचारमुक्त बनाउन रोडम्याप साबित हुने उनको भनाई छ । नेपाललाई तीन वर्षभित्र ‘क्यासलेस’ बनाउन सकिने र त्यसको दश वर्षभित्र ‘मनीलेस’ बनाउन सकिने उनको भनाई छ । क्यासलेस सर्भिस दूरदराजमा रहेका र प्रविधि नजानेकाहरुले पनि सहज रूपमा प्रयोग गर्न सकिने उनले बताए । क्यासलेस सभिर्सका लागि आफूले स्मार्ट करेन्सीको परिकल्पना गरेको उनको भनाई छ । एउटा व्यक्तिका लागि विभिन्न दरका तीनवटा नोट दिने र त्यसमा बारकोड राखेर बैंकसँग लिङ्क गराएर सहज रुपमा प्रयोग गर्न सकिने उनको भनाई छ ।

‘मैले स्मार्ट करेन्सी भनेर एउटा कन्सेप्ट लन्च गरेँ । स्मार्ट करेन्सी भनेको के हो भने तपाईंको गोजीमा भएको पैसामा बारकोड हालिदिने र रिमोर्ट एरियामा भएका पसलहरुमा पनि बारकोड स्क्यानर हालिदिने । एउटा परिवारका लागि सरकारले तीनवटा करेन्सी फिक्स गर्नुपर्छ,’ उनले भने । आफूले अनुसन्धानबाट तयार गरेको पुस्तक र क्यासलेस सर्भिसले नेपालका लागि धेरै ठूलो उपलब्धि हुने उनले बताए । नेपालमा यो व्यवस्था लागू गर्न सकिन्छ भनेर अनुसन्धानबाट प्रमाणित भएको उनको दाबी छ ।

उनले नेपाललाई क्यासलेस गरेको सातदेखि दश वर्षमा मनीलेस लागू गराउन सकिने बताए । मनिलेस कन्सेप्टमा कोही धनी र गरिब नहुने उनको भनाई छ । आफूले लेखेको पुस्तक नेपाल भ्रष्टाचारमुक्त बनाउनका लागि रोडम्याप हुने अनुसन्धानकर्ता साहको दाबी छ । उक्त अनुसन्धानको आधारमा क्यासलेस सर्भिस लागू गरेको खण्डमा नेपाल राष्ट्र बैंकबाहेक अन्य सबै बैंक बन्द हुने उनले बताए । उक्त बैंक रहेका स्थानलाई अस्पताल र विद्यालयको रूपमा प्रयोग गर्न सकिने उनले बताए । क्यासलेस व्यवस्थामा जाँदैगर्दा सरकारले आफ्ना नागरिकलाई शून्य ब्याजदरमा जति पनि ऋण दिन सक्ने उनको भनाई छ ।

‘नेपालमा एउटा पनि बैंक चाहिँदैन । क्यासलेस भएपछि सबै बैंक बन्द हुन्छ । अहिले भएका सबै बैंकहरुमा हस्पिटल, स्कुल खोल्न मिल्छ’ उनले भने, ‘जनताले जति ऋण चाहियो, एक रुपैयाँ ब्याज नतिरी सरकारले जतिबेला पनि दिन मिल्छ ।’ आफ्नो अनुसन्धानले प्रमाणित गरेको व्यवस्था नेपालमा लागू गराउँदा नेपाल विश्वको पहिलो क्यासलेस देश बन्ने उनको दाबी छ । देशलाई क्यासलेस बनाएर नेपाललाई विश्वमा पहिलो भ्रष्टाचारमुक्त देश बनाउन आफू लागिरहेको उनले बताए । ‘नयाँ व्यवस्था आउँदैछ, यो व्यवस्थामा नेपाल विश्वमा पहिलो देश हुन्छ । हामी नेपाललाई तीन वर्षभित्र विश्वको पहिलो भ्रष्टाचारमुक्त देश बनाउन सक्छौं । त्यही हाम्रो रोडम्याप हो’ उनले भने ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

7 − 6 =