काठमाडौं । इजरायल–हमासबीच जारी द्वन्द्वमा युद्धविराम भएको घोषणा गरिए पनि इजरायली सेनाले गाजा पट्टीमा बम आक्रमणलाई निरन्तरता दिएको छ। प्यालेस्टाइन क्रोनिकलको रिपोर्टका अनुसार गाजाको सरकारी मिडिया कार्यालयका प्रमुख इस्माइल अल–थवाबाताले गाजामा विगत २४ घण्टामा २०० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु भएको बताएका छन् । यो सम्झौतालाई इजरायली सरकारले बुधबार प्रारम्भमा अनुमोदन गरेको थियो र यो बिहीबारदेखि लागू हुने अपेक्षा गरिएको थियो ।
एम्बुलेन्स र सिभिल डिफेन्स टोलीहरूले बिहीबार बिहान गाजा सहरको पूर्वमा रहेको शेजाइयामा १० घरहरूलाई लक्षित गरी भएको बम विस्फोट भएको थियो । त्यसमा ३० जना घाइते भएको जनाइएको छ । जब इजरायली युद्ध विमानहरूले गाजा सहरको शेख रदवान छिमेकमा दुईवटा घरहरूलाई निसाना बनाउँदा कम्तिमा १० प्यालेस्टाइनी मारिएका छन् भने धेरै घाइते भएका छन् । इजरायली सेनाले बिहान उत्तरी गाजामा भएको अर्को आक्रमणमा उत्तरपूर्वी गाजाको जबलिया शिविरका ६० जनाभन्दा बढीको मृत्यु भएको छ ।एएफपीका अनुसार इजरायली अधिकारीहरूले दुई पक्षबीच युद्धविराममा सहमति भए पनि शुक्रबारभन्दा पहिले गाजामा लडाइँको अन्त्य नहुने र हमासले बन्धक बनाएकाहरूलाई रिहा नगरिने बताएका छन् ।
राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले दक्षिणी इजरायलमा अक्टोबर ७ मा हमासको हमलामा पक्राउ परेका कुनै पनि बन्धकलाई शुक्रबारअघि रिहा गरिने छैन भनेपछि अधिकारीहरूको टिप्पणी आएको हो ।