काठमाडौँ
सहकारी कार्यालय खोज्दै बिजुलीबजार आएका पीडितहरुले भन्न थाले, ‘सहकारी त भाग्यो सरकारी कार्यालय पनि भाग्यो जस्तो छ’
बागमती प्रदेशको सहकारी कार्यालय पहिला काठमाडौंको बिजुलीबजारमा रहेको थियो । ०८० जेष्ठ १ गते त्यहाँबाट सरेर कमलपोखरी गएको छ । कार्यालय सरेको यत्रो समय भएपनि पुरानै ठाउँमा पीडितहरु आफ्नो समस्या बोकेर आइरहेको देखिन्छ ।
सहकारी कार्यालयको पुरानो भवनमा कार्यालय यो ठाउँमा सरेर गएको भनेर सूचना टाँसिएको छैन । न त कुनै सम्पर्क नम्बर नै राखिएको छ । पुरानो कार्यालयसँगै एउटा चियापसल पनि छ । त्यहाँ दिनहुँ सयौं सहकारी पीडितहरु कार्यालय कुन ठाउँ गएको भनेर सोधपुछ गर्न आइपुग्छन् ।
पसले भने कसैलाई कमलपोखरी भन्छ न कसैलाई कमलादी । हिजो दिउँसो १२ बजे सोही चियापसलमा केही पीडितहरु कार्यालय कहाँ सरेर गयो भनेर सोध्न आइपुगे । करिब एक घण्टामा दुई दर्जनबढी पीडितहरु सोध्न आइपुगेका थिए । तर, चिया पसले बोल्न मन लागे मात्र बताउने र बताएपनि कुनैलाई कमलपोखरी र कुनैलाई कमलादी भन्दै थिए ।
त्यहाँ आएका अधिंकाश पीडितको एउटै गुनासो थियो, सहकारी भाग्यो, बचत फिर्ता गरेन । सहकारी त भाग्यो नै सहकारी कार्यालय समेत पहिलाको ठाउँमा नपाएपछि उनीहरुले यो पनि भाग्यो कि भनेर भन्न भ्याए । व्यापारव्यवसायी गर्नेहरु नयाँ ठाउँ आउनु परेमा पुरानो ठाउँमा नयाँ ठेगाना र सम्पर्कनम्बर लेखेर टाँसिदिन्छन् ।
यसले गर्दा सेवाग्राहीलाई सहज र सरल हुन्छ । तर, सरकारी कार्यालयले भने जहिल्यै सेवाग्राहीलाई दुःख मात्र दिने गरेको छ । नयाँ ठाउँ गएपछि न पुरानामा कुनै सुचना टाँसिदिन्छ न सम्पर्कनम्बर नै छोडिदिन्छ ।
बिजुलीबजारस्थित पुरानो सहकारी कार्यालयनजिक चिया पसल थापेका दोलखाका पसले भन्छन्, ‘दिनमा सयौं जना कार्यालय कहाँ सप्यो भनेर सोध्न आइपुग्छन् । अनि आफ्नो काम गर्नु कि उनीहरुलाई बताउनु?’ सहकारी कार्यालय हुँदा त्यो चिया पसल र वरपरका पसलहरुमा राम्रो व्यापार हुन्थ्यो ।
अहिले कार्यालय सरेपछि व्यापार पनि ठप्प भएको छ । जसले गर्दा व्यापारीहरु निराश र आक्रोश भएका छन् । व्यापार सुस्ताएपछि कार्यालय खोज्दै आउने पीडितमाथि व्यवसायीहरु रिस पोख्छन् । यो त एउटा उदाहरण मात्र हो । सरकारी कार्यालयको कमीकमजोरीका कारण जहिल्यै सर्वसाधारण जनताले दुःख, हैरानी भोग्नुपर्छ ।
दुई वर्षदेखि सहकारी कार्यालय, सहकारी विभाग, प्रहरी चौकी, स्थानीय तहलगायतमा सहकारीविरुद्ध उजुरी गर्नेको संख्या बढ्दो छ । मीनभवनस्थित सहकारी विभागमा पीडितहरु त्यत्तिकै संख्यामा उजुरी गर्न आइपुगेका हुन्छन् ।
स्थानीय तह र प्रहरी चौकीहरुमा पनि यस्तै छ । जोकोही सहकारीले भाग्यो, पैसा खाइदियो भन्छन् । कतिपय आफ्नो सहकारी नभागेपछि बचत फिर्ता नगरेको गुनासो गर्छन् । पीडितहरु घरजग्गा बेचेर, व्यापारव्यवसाय गरेर कमाएको, विदेश गएर कमाएको, साग बेचेर कमाएको पैसा सहकारीमा राखेको बताउँछन् ।
सहकारीमा एकै बचतकर्ताको पाँच हजारदेखि करोडसम्म फसेको बताइन्छ । पीडितमध्ये एक थरी भन्छन्, ‘अब हाम्रो पैसा फिर्ता आउँदैन’, अर्कोथरी भन्छन्, ‘सरकारले केही गरेन ।’ पीडितपीडितबीच नै बहस चलेको छ । यता, विज्ञापन बोर्ड वा सरकारी निकायले हालसम्म सहकारीमा पैसा नराख्नुस् भनेर सचेत गराएको छैन ।
सहकारीका कारण करोडौं बचतकर्ताको रुवाबासी भएको छ । खर्बो रकम सहकारीले डुबाएको उनीहरुको दाबी छ । सहकारीले करोडौं बचतकर्ताको खर्बो रकम डुबाउँदा समेत सरकार मतलब गर्दैन । पीडितहरु भन्छन्, ‘अब कार्यालय तोडफोड गर्नुपर्छ । कार्यालयमा भएको सामान भएपनि बोकेर चित्त बुझनुपर्छ ।’
कतिपय पीडितहरु सहकारीले रकम फिर्ता नगरेपछि आफ्नो साथीभाइले कार्यालय तोडफोड गरी सामान समेत बोकेर ल्याएको बताउँछन् । वडा र नगरपालिकामा सहकारी सञ्चालन गर्न दिएका घरधनीहरु घर खाली गर्न लागिपरेको बुझिएको छ । अहिले घरधनीहरु घर खाली राख्न तयार छन् । तर, बैंक तथा सहकारी सञ्चालन गर्न दिदैंनन् ।
आफ्नो घर तोडफोड, आगजनी हुने डरले सहकारी र बैंकले जति महंगो भाडा लिर्छुभन्दा समेत घरधनीहरु भाडामा दिदैंनन् । पहिला मेनपावर सञ्चालन गर्ने भन्नासाथ घरधनीहरु घर भाडामा दिदैंन थिए । अहिले सहकारी, बैंक, लद्युवित्तलगायत वित्तिय संस्था सञ्चालन गर्ने भन्नेबित्तिकै घरधनीहरु घर भाडामा दिदैंनन् ।
जनता सबैभन्दा ठूलो हुन् । जनताले विश्वास गर्न छोडेमा सरकार पनि ढल्छ । अनि यो सहकारी, बैंक त को हो र ? सर्वसाधारणको बैंक र सहकारीमाथिबाट विश्वास हटिसकेको छ । सहकारीले तीन वर्षदेखि बचत फिर्ता नगर्दा समेत सरकारले मतलब गरेको छैन । सहकारीका कर्मचारी र सञ्चालक चोर, फटहा हुन् भनेर सर्वसाधारणले बुझिसकेका छन् ।
बचतकर्ताले कुट्ने, पिट्ने, कालोमोसो ढल्ने वा प्रहरी चौकीमा बुझाउने डरले अधिंकाश सहकारीका सञ्चालक र कर्मचारी कार्यालय आउन छोडेका छन् । कतिपय त देशै छोडेर समेत फरार भएका छन् । बाटोमा हिँड्दा सहकारीको बोर्ड देखिन्छ । भित्र जाँदा भने कार्यालयको ढोकामा कि त ताल्चा झुण्डाएको हुन्छ कि कार्यालय नै सरिसकेको हुन्छ ।
बैंक, सहकारी र लद्युवित्त जनताबाट नङग्रिसकेको छ । यी संस्था जनतालाई सेवा दिन नभई ठग्न आएको पुष्टि समेत भइसकेको छ । सहकारीमा त जनताले बचत गर्न छोडिहाले । सँगै बैंक र लद्युवित्तमा पनि जनताले बचत गर्न छोडेका छन् । सहकारी भाग्नुको मुख्य कारण घरजग्गा, गाडी र सेयरको आएको मन्दी भनेर अधिंकाशले थाहा पाइसकेका छन् ।
अहिले घरजग्गा, गाडी र सेयर लगानीकर्ताको बिजोक छ । तीन वर्षअघि कित्ताको ५५ सय पुगेको सेयर अहिले बेच्दा तीन सय नआउने उनीको दुःखसो छ । त्यस्तै, आनाको ५५ लाखमा किनेको जग्गा अहिले लाखमा बिक्री नभएको पनि मानिसहरु बताउँछन् ।
गाडीमा पनि यही छ । २० लाखमा किनेको सवारीसाधन अहिले एक लाखमा बिक्री नभएको बताइन्छ । पसलहरुमा बोहनी हुन छोडिसकेको छ । नयाँ बानेश्वर, न्युरोड, चावहिल, भोटाहिटी, ठमेल, कोटेश्वरलगायतका व्यापारीहरु बाटोमा हिँडिरहेका मानिसलाई सामान किन्न फकाईरहेको देखिन्छ ।
यसले उनीहरुको त बेइज्जत भएको छ नै सँगै विदेशी पर्यटकसमक्ष पनि नेपालको बदनाम भइरहेको छ । व्यापारीहरुको यस्तो व्यवहार वा रबैयाले व्यापारव्यवसाय ठप्प भइसकेको र उनीहरु डुबिसकेको कुरा लुकेर लुक्दैंन । व्यापार कतिको छ साहुजी भनेर चिया पसलेलाई सोध्दा उनीहरु भन्छन्, ‘दुई वर्षअघि एक दिनमै दश हजार हुनेमा अहिले पाँच सयको समेत हुदैँन ।’
बजारमा ७० प्रतिशत कोठा, फ्रल्याट र सटर खाली भएको पाइन्छ । सहकारीले एक लाख कर्जा दिँदा २० हजार त घुस, सेवाशुल्क र सेयर भनेर पहिला नै खान्थ्यो । ऋणीको हातमा ८० हजार मात्र पर्दथ्यो । फेरि ऋण लिएको दिनदेखि नै कित्ता सुरु हुन्थ्यो । एक लाखकै कित्ता तिर्नुपथ्यो । ब्याज भन्ने बेला १६ प्रतिशत भनेपनि ७२ प्रतिशतसम्म लिने गरिन्थ्यो ।
एक दिन मात्र कित्ता नतिरे पेनाल्टी हाल्थ्यो । तीन महिनाभित्र कर्जा तिर्न नसके फेरि सेवाशुल्क र घुस खाएर कर्जा तिर्ने अवधि बढाइन्थ्यो । यता, २० लाखको धितो भएमा घुसको आडमा ५० लाखसम्म कर्जा प्रवाह गथ्र्यो । घुस पाँच लाख । बजारमा घरजग्गा, गाडी र सेयरको मूल्य बढ्नुमा सहकारी, बैंक र लद्युवित्तको पनि हात थियो ।
तर, घरजग्गा, गाडी र सेयरको कारोबारमा मन्दी छाएपछि सहकारीको भागाभाग सुरु भयो । बैंक पनि टाट पल्टिने अवस्थामा पुगेको छ । मीटरब्याजमा कर्जा प्रवाह गर्नुका साथै तीन किस्ता नतिर्नेबित्तिकै लाखमा करोडौंको धितो पचाएर सर्वसाधारणको उठीबास लगाउने बैंक, सहकारी र लद्युवित्तको बल्ल डुब्ने पालो आएको छ । भनिन्छ नि पाप गरेपछि त्यसको परिमाण पनि भोग्नुपर्छ ।
अब सर्वसाधारण जनताले बचत फिर्ता नपाएपछि सहकारी, बैंक र लद्युवित्तका कर्मचारीलाई कालोमोसो दलेर प्रहरी चौकी बुझाउने छन् । जति महंगो ब्याज दिन्छु भनेपनि बैंक तथा वित्तिय संस्थामा जनताले बचत गर्ने छैनन् । यी संस्था ठग, चोर र दलाल हुन् भनेर सर्वसाधारणले थाहा पाइसकेका छन् । ढिलै भएपनि सर्वसाधारणको आँखा खुलेको छ ।