काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यनिर्वाचनका लागि माघ२० गते निर्वाचन मतदाता नामावली प्रकाशित गर्ने भएको छ ।
आयोगले आगामी माघ ११ गतेका लागि तय गरेको निर्वाचन कार्यक्रम अनुसार पुस २१ गते नामावली माथि दाबीविरोध र पुस २२ गते अन्तिम मतदाता नामावली समेत प्रकाशन हुनेछ ।
अन्तिम मतदाता नामावली आयोगको वेबसाइट र निर्वाचन अधिकृतको कार्यालयमा प्रकाशन हुने आयोगका सहायक प्रवक्ता एवं उपसचिव सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
पुस २३ गते उम्मेदवारको मनोनयन दर्ता बिहान १० बजे देखि दिउँसो तीन बजे सम्म हुने र मनोनयन दर्ता भएपछि उम्मेदवारको विरोधमा उजूरी दिने कार्य पुस २४ गते हुने उनले बताए।
मनोनयनपत्र र उजुरी माथि जाँचबुझ गरी उम्मेदवारको नामावली पुस २६ गते प्रकाशन हुनेछ । उम्मेदवारले नाम फिर्ता लिने कार्य पुस २७ गते सम्पन्न भएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्य पुस २७ गते दुई बजे सम्पन्न हुनेछ ।
उम्मेदवारलाई निर्वाचन चिन्ह पुस २८ गते बिहान १० बजेदेखि दिउँसो एक बजेसम्म उपलब्ध गराउने कार्यक्रम रहेको आयोगका सहायक प्रवक्ता अर्यालले जानकारी दिए ।
माघ ११ गते बिहान नौ बजे देखि दिउसो तीन बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने उनले बताए । मतदान कार्य सम्पन्न भए पछि त्यसै दिनै मतगणना गरिने छ ।
प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति राष्ट्रिय सभा सदस्यको निर्वाचनमा उम्मेदवार बन्न नपाउने पनि निर्वाचन आयोगले स्पष्ट पारेको छ ।
प्रतिनिधि सभा सदस्यनिर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३ मा भएको व्यवस्था अनुसार सोही दफाको उपदफा १ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम नामहटेको अवस्थामा बाहेक राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन नपाउने आयोगले जनाएको छ ।