बिराटनगर
नेपाल कै पहिलो उद्योग वाणिज्य संघ एवं नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्य मोरंग व्यापार संघ वि.सं. २००७ सालमा स्थापना भएदेखि नै मुलुकको आर्थिक र सामाजिक मामिलामा अग्रणी भूमिका खेल्दै आइरहेको छ । यस संस्थाको मुख्य उद्देश्य राष्ट्रलाई औद्योगिकीकरणतर्फ उन्मुख गर्ने र उच्च मनोबलका साथ आर्थिक क्रियाकलापमा विविधीकरण गरी अधिकार, हित र व्यावसायिक मर्यादाका लागि स्वतन्त्र र स्वाभिमानी अर्थतन्त्रको निर्माण गरी उद्योग/व्यवसायीहरूको हक र हितको संरक्षण र प्रवर्द्धन गर्नु रहेको छ । यसका साथै संघले देशमा हुने प्राकृतिक प्रकोप, खेलकुद, साहित्यिक, धार्मिक, सामाजिक र मानवीय कार्यमा आर्थिक सहयोग गर्दै आएको छ भने विभिन्न सरकारी, सार्वजनिक तथा सामुदायिक पूर्वाधार निर्माणमा समेत महत्वपूर्ण योगदान पुयाउँदै आएको छ ।
यस्तै, मुलुकको आर्थिक मेरूदण्डीय उद्योग / व्यवसायको हक, हित, संरक्षण एवं यस क्षेत्रको आर्थिक गतिविधिको विकास एवं प्रवर्द्धनका लागि निरन्तर प्रयासरत रहँदै आएको यस संघले यस प्रदेशका स्वदेशी उत्पादनहरू सहित कृषि, पर्यटन, ऊर्जा लगायत अन्य सम्भावित क्षेत्रहरूको प्रवर्द्धन एवं विकासमा जोड दिनुका साथै यस क्षेत्रका आर्थिक गतिविधिहरूलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा झल्काउँदै गतिशील एवं प्रभावशाली बनाउने उद्देश्य लिई समय समयमा यस ऐतिहासिक औद्योगिक नगरी विराटनगरमा मेला, महोत्सव, प्रदर्शनी आदि आयोजना गर्दै आएको छ । यस आर्थिक क्षेत्रको गतिविधिहरूको सम्वर्द्धन एवं विकासका लागि यस संघले विगतमा कोशी महोत्सव २०५३, पूर्वाञ्चल औद्योगिक व्यापार मेला २०५७, विराट महोत्सव २०६२, विराट महोत्सव २०७०, विराट ट्रेड एक्स्पो २०१८ (२०७५), विराट ट्रेड एक्स्पो २०२२ (२०७८) आदि भव्यताका साथ आयोजना गरी उदाहरणीय रूपले सफलता हासिल गरेको र यस क्षेत्रको उद्योग, व्यवसाय, कृषि, पर्यटन तथा सेवा क्षेत्रहरूको विकास र प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुऱ्याएको थियो । हाम्रो पछिल्लो अन्तर्राष्ट्रिय व्यापार मेला, विराट ट्रेड एक्स्पो २०२२, अन्य पटक भन्दा पृथक ढंगले नेपालमै पहिलो पटक एसी ह्याङगर, जिपलाईन, स्काई साईकल जस्ता साहसिक खेल तथा विश्व सम्पदाका नमूनाहरू (सेन्ट वेशिल, बुर्ज खलिफा) आदि सहित संचालन गरिनुका साथै स्वदेशी तथा अन्तर्राष्ट्रिय उत्पादित वस्तुहरू सहित सबै क्षेत्रको प्रदर्शनी र प्रवर्द्धन गर्न सफलता हासिल गरेको थियो भने उक्त एक्स्पोले दुई लाखभन्दा बढी दर्शकलाई आकर्षित गरेको थियो ।
सोही उद्देश्यहरू अनुरूप विगतका वर्षहरू झैँ यस वर्ष पनि यस संघले २०८० पौष ६ गते देखि १६ गते सम्म विराटनगरमा ‘मोरंग व्यापार संघ एक्स्पो २०२३’ (अन्तर्राष्ट्रियस्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी) को आयोजना गर्ने तयारी गरिरहेको संघका अध्यक्ष नवीन रिजालले जानकारी दिए। मुलुकको विद्यमान शिथिल आर्थिक गतिविधिलाई चलायमान बनाउनुका साथै स्वदेशी उद्योग/व्यवसायको प्रवर्द्धन, नेपाल व्यापार रणनीति (NTIS) अन्तर्गत पहिचान गरिएका यस प्रदेशका अधिकांश वस्तुहरू सहित अन्तर प्रादेशिक उत्पादन र सेवाहरूको राष्ट्रिय/अन्तर्राष्ट्रिय बजार विस्तार, स्वदेशी एवं विदेशी लगानीकर्ताहरू बीच व्यवसायीक सम्बन्ध र सहकार्य स्थापना, यस प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रचार प्रसार लगायत कैयौँ प्रवर्द्धनात्मक कार्यहरू गराउने प्रमुख उद्देश्य सहित औद्योगिक / व्यवसायिक क्षेत्रको विकास एवं प्रवर्द्धनार्थ विशेष सहयोग पुयाउने अभिप्रायले यस संघले यस वर्ष पनि सो एक्सपो संचालन गर्न लागेको अध्यक्ष रिजालले बताए ।