काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ । भन्सारबाट बाहिरिईसके पछि प्रहरीको टोलीले सुन बरामद गरेको हो ।
सुनसहित पक्राउ पर्नेमा इजिप्टका नागरिक सरिफ मोहमद लासिम रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डिआईजी अर्जुन चन्दले बताए ।
क्लोज सर्किट (सीसी) क्यामेरा फुटेजका आधारमा प्रहरीले इजिप्टका ती नागरिकसँग संलग्न भएको आशंकामा थप दुई सुडानी नागरिकहरुलाई पनि पक्राउ गरेको छ ।
उनीहरुले आफ्नो संलग्नता स्वीकारेका छैनन् । विगतमा यूएई हुँदै नेपाल मार्फत भारतमा तस्करी हुने सुनमा पनि सुडानी नागरिकको संलग्नता देखिँदै आएको छ ।
शनिबार राति सोही विमानमा आएका व्यक्तिलाई शंका लागेपछि निगरानी गर्ने क्रममा पक्राउ गरिएको डिआईजी चन्दले बताए । ‘उनले सुनलाई अर्ध ठोस बनाएर ल्याएका थिए, अघिल्लो घटनामा जस्तै ज्याकेटभित्र राखेर उनले सुन ल्याएका थिए’, चन्दले भने ।
यसअघि शुक्रबार प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले रसुवा नाकाबाट आएको दुई किलो अवैध सुन बरामद गरेको थियो । कार्यालयले तीन दिनअघि न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो अवैध सुन समेत बरामद गरेको थियो ।
सुन प्रकरणको अनुसन्धानका लागि सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्ली आचार्यको नेतृत्वमा छानबिन समिति बनाएको छ । समितिले यी प्रकरणका आरोपीहरुको हाल बयान लिइरहेको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

seven + 11 =