काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले सूचना प्रविधि क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाएको जिकिर गरेकी छन् ।
काठमाडौंमा मंगलबार आयोजित प्रविधिको पूर्वाधार विकासका लागि नेपाल–भारत सहकार्य सम्बन्धी एक कार्यक्रममा उनले सरकारले सूचना प्रविधिको क्षेत्रलाई महत्वका साथ हेरेको बताइन् ।
उनले भनिन् ‘सूचना र प्रविधिको क्षेत्रलाई नेपाल सरकारले महत्वका साथ हेरेको छ । सार्वजनिक सेवा प्रवाहमा प्रविधिको प्रयोगलाई आत्मसात गर्दै आएको छ । परिणामस्वरुप सार्वजनिक सेवामा विद्युतीय प्रणालीको प्रयोगमा विकास भएको छ ।’
दिगो विकास लक्ष्यको सफल कार्यान्वयनका लागि समेत डिजिटल प्रविधिको विकासलाई प्राथमिकतामा राख्नु आवश्यक रहेको भन्दै उनले सरकारले नीति तथा कार्यक्रममै प्रविधि क्षेत्रको विकासमा जोड दिएको बताइन् ।
‘दिगो विकासको लक्ष्य २०३० को सफल कार्यान्वयनका लागि समेत डिजिटल सार्वजनिक पूर्वाधारलाई प्राथमिकतामा राख्नुपर्ने छ । चालु आर्थिक वर्षको नीति तथा कार्याक्रम र बजेटले पनि यसलाई सम्बोधन गरेको छ,’ उनले भनिन् ‘डिजिटल सार्वजनिक पूर्वाधारलाई सुरक्षित र अन्तरक्रियात्मक बनाउदै समग्र प्रणालीप्रतिको विश्वास वृद्धि गरि सुशासन र विकासमा टेवा पु¥याउने सरकारको लक्ष्य छ । डिजिटल प्रविधिलाई बढावा दिन सरकारले विभिन्न कार्यक्रम अगाडि सारेको छ, देशका सबै भूभागमा समान शैक्षिकस्तर पु¥याउन सरकारले इ–लर्निङ प्लेटफर्म विकास गर्ने सरकारको लक्ष्य छ ।’
डिजिटल फ्रेमवर्कमार्फत शिक्षा, स्वास्थ्य, कृषि पर्यटन लगायतका क्षेत्रलाई डिजिटल बनाउदै आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्ने लक्ष्य रहेको उनले सुनाइन ।
‘डिजिटल पूर्वाधारको निर्माण र सुरक्षित प्रयोगका लागि नीतिगत, कानूनी र संरचनागत व्यवस्था तयार गर्ने कार्यलाई सरकारले गम्भीरतापूर्वक हेरेको छ । हामीले पहिलो पटक नेपालमा राष्ट्रिय साइबर सुरक्षा नीति पनि जारी गरेका छौं,’ उनले भनिन् ‘कागजरहित नेपालको विकास गर्ने सन्दर्भमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु गरेका छौं ।’
डिजिटल पूर्वाधार निर्माण र सुरक्षित प्रयोगका लागि नीतिगत र कानूनी संरचना निर्माणका लागि सरकार गम्भीर भएर लागेको उनको भनाइ थियो ।