काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनकले रुवाण्डा आप्रवासन नीतिमा ठूलो राहत पाएका छन् । बेलायती संसदमा रुवाण्डा आप्रवासन विधेयक पारित भएको छ । प्रधानमन्त्री सुनकको कन्जरभेटिभ पार्टीका सबै सांसदहरूले सरकारको रुवाण्डा आप्रवासन विधेयकको पक्षमा मतदान गरेपछि सुनकलाई ठूलो राहत मिलेको हो ।

हाउस अफ कमन्समा पार्टीका ३१३ सदस्यमध्ये २६९ जनाले विधेयकको पक्षमा मतदान गरे । जुन ४४ मतको बहुमत हो ।तर, कन्जरभेटिभ पार्टीका ३८ सांसदहरूले भने मतदानमा भाग लिएनन् । जसमा बर्खास्त गरिएका गृहमन्त्री सुएला ब्रेभरम्यान र राजीनामा दिएका बेलायतका अध्यागमन मन्त्री रोबर्ट जेनरिक पनि छन् ।यसअघि प्रधानमन्त्री सुनकले कन्जरभेटिभ पार्टीका सांसदहरूको समर्थन जुटाउन अभियान सुरु गरेका थिए । धेरै सांसदहरूले विधेयकको विरोध गर्ने धम्की दिएका थिए । यो विधेयकले पूर्वी अफ्रिकी देश रुवान्डामा अवैध आप्रवासीहरूलाई देश निकाला गर्ने कानुनी अवरोधहरू हटाउने लक्ष्य राखेको छ ।

मंगलबार विधेयकमा प्रारम्भिक चरणको मतदान अघि प्रधानमन्त्री सुनकले कानुनी चुनौतिहरूबाट बच्न पर्याप्त नभएको महसुस गर्दै विधेयकको विरोध गरिरहेका पार्टीका दक्षिणपन्थी सदस्यहरूका लागि बिहानको खाजाको आयोजना गरे ।प्रस्ताव पारित भएसँगै प्रधानमन्त्री सुनक आफ्नै पार्टीभित्रको परीक्षामा उत्तीर्ण भएका छन् । जसले पार्टीमा उनको पकड पनि बलियो बन्दै गएको संकेत पनि गरेको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

nineteen − 16 =