काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले संसारका सबै देशहरुलाई सुर्तीजन्य उत्पादनहरूमा प्रतिबन्ध लगाउन आग्रह गरेको छ । डब्ल्यूएचओले विभिन्न स्वादमा उपलब्ध गराइने ई–चुरोट (भेप)को प्रयोगबाट युवाहरु निकोटिनको लतमा परेको उल्लेख गर्दै त्यसलाई रोक्न आग्रह गरेको हो ।
विभिन्न स्वादमा दिइने ई–चुरोटले युवालाई लतको सिकार बनाउँदै लगेको डब्लुएचओले जनाएको छ । धुम्रपानको विकल्पका रूपमा सुर्तीजन्य पदार्थ कम्पनीहरूले ई–सिगरेटलाई प्रस्तुत गरिरहेका छन् ।डब्ल्यूएचओका महानिर्देशक टेड्रोस गेब्रेयससले १३–१४ वर्षका बालबालिकाहरूले ई–सिगरेट प्रयोग गरिरहेको बताउँदै उनीहरू निकोटिनको लतमा परेकाले पनि यस विषयमा कडा कदम चाल्न जरुरी भएको उल्लेख गरे ।
डब्ल्यूएचओका महानिर्देशकले भने ‘डब्ल्यूएचओलाई राष्ट्रिय नियमहरूमा कुनै अधिकार छैन । तर, यो सिफारिसहरू सबै देशहरूले स्वेच्छिक रूपमा स्वीकार गर्ने अपेक्षा गरिएको छ, जुन अहिलेसम्म भएको छ । फिलिप मोरिस इन्टरनेशनल र ब्रिटिश अमेरिकन टोब्याको जस्ता केही प्रमुख चुरोट कम्पनीहरूले भ्यापको माध्यमबाट सिगरेट खपतको लागि भविष्यको वैकल्पिक रणनीतिहरूमा काम गरिरहेका छन् । यो खतरनाक छ ।’