चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन सडकको भित्तो काट्न सुरु गर्ने भएकाले आज बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ ।

जसका कारण सो सडकखण्ड प्रयोग गर्ने चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन बाटोमै रोकिने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान १०ः४० बजेसम्म चलाउन पाइने छ भने मालवाहक सवारी साधन भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः३० बजेसम्म मात्र सञ्चालन हुनेछ । काठमाडौंबाट आउने यात्रुवाहक सवारी भने मुग्लिन बजारदेखि मनकामना केबुलकारसम्म बिहान १०ः५५ सम्म तथा मालवाहक सवारी सधान १०ः४५ सम्म मात्र चलाउन दिइने छ ।

यस्तै, पोखरातर्फबाट आउने यात्रुवाहक सवारी साधन बिहान १०ः५५ बजेदेखि बेनीटारदेखि पावर हाउससम्म र मालवाहक सवारी साधन बिहान १०ः४५ बजेदेखि सत्रसय फाँटमा रोकिने छ । पहिलो चरणमा तीन हप्ताका लागि सडक बन्द गरेर भित्तो काटिने छ । साठी मिटर अग्लो उक्त पहाड गत वर्ष २५ मिटर काटिएको थियो । बाँकी ३५ मिटर सडक अब काट्न लागिएको हो । दैनिक १० हजारभन्दा बढी सवारी साधन गुड्ने उक्त सडकमा दैनिक चार घण्टा सवारी साधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्नजिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

seventeen + 15 =