रामेछाप । अहिले रामेछापका जुनार किसानको बगैँचामा लटरम्मै जुनार फलेका छन् । रामेछाप र सिन्धुलीका अधिकांश बजार केन्द्रमापनि बिक्रीको लागि राखिएका जुनारको थुप्रा थुप्रा देखिन्छन् । किसानको बगैँचाको बोट र व्यापारीले बेच्न राखेको जुनारको रास देख्दामुख नरसाउने सायदै कोहीहोला ।

यी रसिला जुनार उत्पादन गर्ने किसानको कथाभ ने त्यति रसिलो छैन । जुनार किसानको कथा निक्कै उराठ लाग्दो छ । रामेछापमा व्यावसायिक जुनार खेती सुरु भएको झण्डै चार दशक भइसक्यो । रामेछापको रामेछाप, ओख्रेनी, सुकाजोर, सालु, देउराली, रमपुर, भलुवाजोर, फुलासी, माकादुम, खनियापानी, दोरम्बा, हिलेदेवी, बेथान लगायतका स्थानमा व्यावसायिक रूपमा जुनार खेती हुँदै आएको छ । रामेछापमा पञ्चायत कालमा नै जापनिजहरूले परीक्षणको रूपमा जुनार खेती सुरु गरेका थिए । त्यसैबाट प्रेरित भएर रामेछापका किसानले जुनार खेती लगाउन सुरु गरेका हुन् । तत्कालीन राजावीरेन्द्र २०४२ सालमा भ्रमणमा आउँदा राजालाई देखाउन रामेछाप बजारमा पाकेका जुनारका बोटका हाँगा काटेर बजार भरी फलेको जुनारको बोटको गेट बनाइएको थियो ।

त्यसैबाट प्रभावित भएर तत्कालीन राजा वीरेन्द्रले रामेछापलाई जुनार क्षेत्र घोषणा गरेका थिए । जुनार क्षेत्र घोषणा गरेपछि जुनार खेती गर्ने किसानलाई जुनारका बिरुवा तथा मलमा अनुदान दिइएको थियो । जसले गर्दा किसानले धमाधम जुनार लगाए र जुनारका बगैँचा बनाए ।
जुनार लगाएको तीन÷चार वर्षबाट उत्पादन दिन सुर र्गयो तर सडक, पूर्वाधार केही नभएको कारण जुनार बिक्रीहुन सकेन । ‘जुनार बिक्री भएन, सबै बगैँचामा कुहिएर गयो, बजार नपाएपछि कतिपय किसानले त्यतिखेर बगैँचा नै मासे’, ओख्रेनीका किसान युगराज पाख्रिन भन्छन् ।
जब रामेछाप काठमाडौं र सिन्धुलीबाट सडक जोडियो बल्ल जुनारले बजार पाउन लाग्यो । त्यस पछि फेरी किसानले व्यावसायिक रूपमा जुनार लगाउन लागे ।

तर बिचमा जुनारमा दुईवटा महामारी प्रकृतिका रोग आए । पहिला जुनारको बोट नै मार्ने ढुसी रोग आयो । धेरै किसानका बगैँचाका जुनारका बिरुवा मरे । बगैँचा नै रित्तिए । ढुसी रोग बल्ल नियन्त्रणमा आयो । त्यस पछि जुनारका दानामा औँसा पर्ने रोग देखियो । ‘करिब तीनवर्ष जति त्यो रोगले जुनार बिर्गायो, बाहिरबाट हेर्दा राम्रो दाना देखिने, दानाभित्र सबै औँसा किरा, उपभोक्तालाई ठगे जस्तै हुने, त्यसले गर्दा जुनार नै बिक्री भएन, दुई वर्षदेखि त्यो रोग देखिएको छैन’, पाख्रिन भन्छन् । अहिले भने किसानलाई जुनार बिक्री गर्न त्यति असजिलो छैन । व्यापारीहरू जुनार किन्न बगैँचामा नै पुग्छन् । राम्रो खालका जुनार बगैँचाबाटै प्रतिकिलो ५० रुपैँयाका दरले बिक्रीहुने ओख्रेनीका किसान शेरबहादुर तामाङ बताउँछन् ।

जुनार मुख्य उत्पादनहुने सिजन मंसिरदेखि माघ सम्म हो । माघ सम्म ४० देखि ६० रुपैँया प्रतिकिलो बिक्रीहुने जुनार अर्को एक महिना राखेर फागुनको अन्तिमतिर बेच्ने हो भने कम्तीमा एक सय रुपैँया किलोमा बिक्री हुन्छ । ‘तर त्यसलाई स्टोर गरेर राख्न कोल्ड स्टोर छैन, कोल्ड स्टोर नभई जोगाउन सकिँदैन’, शेरबहादुरले भने । सरकाले जुनार किसानलाई बिरुवा, पोखरी तथा औषधी लगायतमा ५० प्रतिशत अनुदानदिने गरेको छ । तर त्यसले किसानलाई खासै सहयोग नपुगेको शेरबहादुरको गुनासो छ । ‘बिरुवा र औषधिमा त ५० प्रतिशत अनुदान ठिकै हुन्छ, सिँचाई पोखरी बनाउनु पर्दा ५० प्रतिशत अनुदानले बाँकी पैसा किसानले कहाँबाट ल्याउनु ?, त्यस्ता ठुला काममा सरकारले ९० प्रतिशतसम्म अनुदानदिने व्यवस्था भयो भने बल्ल किसानले काम गर्न सक्छन्’, उनले भने ।

कृषि क्षेत्रका यिनै समस्याका कारण नयाँ पुस्तामा जुनार खेतीमा आकर्षण देखिएको छैन । ‘खेती गर्ने मान्छे जम्मै ५० वर्ष माथिका छन्, युवा पुस्ता गाउँमा बस्नै मान्दैन, खेती गर्नै मान्दैन, जुनार खेतीलाई पुस्तान्तरण गर्न सकिएको छैन’, उनले गुनासो गरे ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

18 − nine =