काठमाण्डौं । लघुवित्त, मिटरब्याज र सहकारी पीडितले सरकारले न्याय नदिएसम्म घर नर्फकने जनाएका छन् । आज शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरूले मिटरब्याज पीडित लाखौँको संख्यामा रहेका र सरकारले न्याय नदिएसम्म घर नफर्कने जनाएका हुन् ।
मिटरब्याज तथा ठगीविरोधी किसान संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहले आफूहरू विगत तीन वर्षदेखि निरन्तर आन्दोलनरत रहेको बताए । ऋण लिएको भन्दा साहुकारले चार गुणा बढाएर कागज गराएको र जति तिर्दा पनि नसकिएको पीडितहरुको गुनासो रहेको छ ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका अध्यक्ष कुशलव केसीले सहकारीपीडितको पक्षमा आफूहरूले ६३ दिन आन्दोलन गरेको उल्लेख गरे । आन्दोलनका क्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जीता श्रेष्ठ प्रदर्शनस्थलमै आएपश्चात् सातबुँदे सहमति भएको उनले बताए ।