काठमाडौँ – केही महिनाअघि नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले एक सार्वजनिक कार्यक्रममा बैंकमा भएको जनताको रकम सुरक्षित रहेको दाबी गर्दै निढुक्क भएर बचत गर्न आग्रह गरे । तर, अहिले ‘क’ वर्गकै बैंक घाटामा गएको र डुब्ने अवस्थामा पुगेको छ । बैंकहरुले तीन वर्षअघिको भ्यालसिनमा घरजग्गा, गाडी र सेयरमा कर्जा प्रवाह गरे ।
तीन वर्षअघि घरजग्गा, गाडी र सेयरको मूल्य उच्च बिन्दुमा पुगेको थियो । बजार चर्किएको थियो । घरजग्गा आनाकै करोड पुगेको थियो । गाडी पनि नयाँ होस् या पुराना महंगो छ । झन् सेयर त पाँच हजार कित्तासम्म पुगेको थियो । घरजग्गा, गाडी र सेयरको मूल्य यति धेरै बढेको देखेर बैंकहरुले यो वस्तु राखेर चिनेको व्यक्तिलाई ८० प्रतिशत र नचिनेकोलाई ६० प्रतिशतसम्म कर्जा प्रवाह गप्यो ।
आम सर्वसाधारण, पहुँच नभएकाहरुले बैंकबाट ऋण नै पाएनन् । ५० लाखको धितो राख्छु, पाँच लाख ऋण दिनुस् भन्दा समेत उनीहरुले कर्जा पाएनन् । किनकि उनीहरुले न त बैंकका सञ्चालक, कर्मचारीलाई घुस दिन सक्छन् न त नक्कली डकुमेन्ट नै बनाउन सक्छन् । बैंकका सञ्चालक र कर्मचारीहरुले घुस खाएर आफन्त, व्यापारीहरुलाई करोडको धितो राखेर अर्ब कर्जा प्रवाह गरे ।
पछिल्लो समय बजारमा घरजग्गा, गाडी र सेयरको कारोबारमा मन्दी छाएको छ । बजार नै मन्दीमा गएको छ । बैंकबाट ऋण लिएको ऋणीले मासिक रुपमा कित्ता तिरेको भए साँबा र ब्याज नै घट्थ्यो । बजारमा मन्दी नआएको भए तीन वर्षअघि ६० लाखमा किनेको जग्गा अहिले करोड पुग्थ्यो । गाडी र सेयरको पनि मूल्य त्यत्तिकै बढ्थ्यो ।
बिडम्वना, तीन वर्षअघि ६० लाखमा किनेको सेयर अहिले लाखमा बिक्री नहुने अवस्था आएको छ । गाडी र सेयरको पनि अवस्था उही छ । २५ लाखमा किनेको गाडी पाँच लाखमा बिक्दैंन । ३५ सयको सेयर एक सयमा झरेको छ । बजारमा घरजग्गा, गाडी र सेयरको मूल्य घट्दै गएको छ । यसले गर्दा बैंकको लगानी जोखिममा परेको हो ।
किनकि बैंक तथा वित्तिय संस्थाको सम्पूर्ण कर्जा लगानी यही घरजग्गा, गाडी र सेयरमा छ । मालपोत र यातायातमा घरजग्गा र गाडीको किनबेच, नामसारी ठप्प छ । सेयरको पनि प्रत्येक दिन मूल्य घटिरहेको छ । बैंक डुब्छ, हाम्रो निक्षेप डुब्छ भनेर आम सर्वसाधारणले थाहा पाइसकेका छन् । केही महिनायता नाम चलेकै बैंकहरु घाटामा गएको वा कर्जा उठाउन नसकेको समाचार बाहिरिएका छन् ।
बैंक डुब्छ भनेर बजारमा हल्ला चलिसकेको छ । बैंकमा पैसा निकाल्नेको भीड बढेको छ भने कर्जा लिने कोही छैन । बैंकहरुले लिलाम गरेको धितो पनि बिक्री भएको छैन । अब बैंकले कसरी बचतकर्ताको रकमको ब्याज दिन्छ ? कसरी कर्मचारीलाई तलब दिन्छ ? घरभाडा कसरी दिन्छ ? र, दैनिक खर्च कसरी धान्छ ?
अहिले बैंक पनि सहकारीकै हालतमा पुगेको छ । बजारमा घरजग्गा, गाडी र सेयर बेच्न चाहने यत्तिकै भेटिन्छन् । तर, किन्ने मान्छे कोही छैन । अहिले व्यापार, व्यवसाय गर्नेहरुले पनि बैंकबाट ऋण लिएका छैनन् । लिएको ऋण समेत उनीहरुले तिर्न सकेका छैनन् । उनीहरु भन्छन्, ‘पसल खोल्नु मात्र हो । बहनी समेत हुँदैन ।’
पछिल्लो समय कोठा, सटर र फ्रल्याट पनि धमाधम खाली भएका छन् । अधिंकाश व्यवसायी पलायन भइसकेका छन् । यता, आम सर्वसाधारण वा व्यापारीहरुले पैसा जति सबै घरमा लुकाएका छन् । प्रत्येक दिन बजारमा मन्दी बढ्दै गएको छ । बेरोजगारी हवात्तै बढेको छ । महंगोले सीमा नाघेको छ । लुटपाट, चोरीका घटना बढेका छन् भने बाटोमा माग्नेको संख्यामा पनि वृद्धि भएको छ ।
घरधनीहरु भन्छन्, ‘वर्ष दिन हुन थालिसक्यो सटर खाली भएको । घटाएर दिन्छु भन्दा पनि कोही आउँदैन ।’ पुराना व्यवसायीहरु मन्दीका कारण डुबिहाले । अनि नयाँ व्यवसायीहरु पनि मन्दीका कारण आउन चाहदैंन । अहिले व्यापारीहरु पनि पर्ख र हेरको अवस्थामा छन् । यो अवस्थामा कोही पनि बैंकबाट ऋण लिएर व्यापारव्यवसाय गर्न चाहदैंनन् ।
२० वर्षअगाडि नै राष्ट्र बैंक र अर्थ मन्त्रालयले घरजग्गा, गाडी र सेयरमा कर्जा प्रवाहमा कडाई गरेको भए आज यो अवस्था आउँदैंन्थ्यो । दलालीहरुले आफु धनी हुनुका लागि रातारात यी वस्तुको मूल्य बढाए र आम सर्वसाधारणलाई फसाए । सर्वसाधारणलाई मात्र नडुबाई दलालीहरुले बैंक तथा वित्तिय संस्थालाई समेत डुबाए ।
तर, दलालीहरुको यो रणनीति न सर्वसाधारणले बुझे न त सरकारले । दलालीहरुले कसरी आम सर्वसाधारण र बैंकलाई फसाएर भनेर भन्नुपर्दा तीन दशकअघि एउटा आनाको ५० हजारमा जग्गा किन्यो । किनेको दुई वर्षमै उसले नाफा खाएर पाँच लाखमा बेच्यो । पाँच लाखमा किन्ने तीन वर्षपछि २० लाखमा बेच्यो । अनि त्यो किन्नेले सात वर्षपछि ४५ लाखमा बेच्यो ।
४५ लाखमा किन्नेले दश वर्षपछि ८० लाखमा बेच्यो । जग्गा त्यति नै हो । न त जग्गाको लम्बाई बढेको छ न त चौडाई तर मूल्य भने हवात्तै बढ्यो । अनि यो मूल्य बढाउने पनि दलाली नै हो । सेयरमा पनि त्यही भयो । बैंकले सय रुपैयाँमा निष्काशन गरेको सेयर दलालीले ३२ सय पुप्यायो । भारतमा एक लाखमा पाइने गाडी नेपालमा ल्याएर ३० लाखमा बेचियो ।
बैंक, लघुवित्त र सहकारीले कर्जा प्रवाह गरेको क्षेत्रबारे राष्ट्र बैंक वा अर्थ मन्त्रालयले अनुगमन वा अध्ययन गर्ने हो भने यी तीन क्षेत्रमा मात्र कर्जा प्रवाह गरेको पाइनेछ । दलालीहरुले राज्यको आँखा छले र बैंकका सञ्चालक र कर्मचारीहरुलाई आफ्नो मुठीमा लिए । अहिले आएर आम सर्वसाधारण डुब्नु परेको छ ।
बैंक र सहकारीमा भएको रकम जनता कै हो । अनि बैंक र सहकारी डुब्नु भनेको जनता डुब्नु बराबर हो । यसरी राष्ट्र बैंक र अर्थ मन्त्रालयले समयमै कर्जा प्रवाहमा कडाई नगर्दा आज सर्वसाधारणको रकम जोखिममा परेको छ । मुलुकमा कृषि र भूमि दुवै मन्त्रालय छ । कृषि मन्त्रालयको काम कृषिमा वृद्धि गर्नु हो । भने भूमि मन्त्रालयको काम भूमिको संरक्षण गर्नु हो ।
तर, अहिले यी मन्त्रालयहरुको केही काम नै छैन । कृषि मन्त्रालय विदेशबाट मात्र खाद्यान्न आयात गरिरहेको हुन्छ भने हाम्रो देशको भूमि जति सबै घर र बाटो बनाउँदा मासिसकेको छ । अनि किन चाहियो यी मन्त्रालय ? अहिले मुलुकमा सबै खाद्यान्न विदेशबाट आयात गरिन्छ । तर, कति खाद्यान्न आयात भयो ? खाद्यान्न खरिद गर्दा कति रकम विदेशियो ? भनेर सरकार जनतालाई भन्दैन ।
जनताको भान्छामा पाक्ने हरेक वस्तु विदेशबाट आयात गरिएको छ । कुहिएको, बिग्रिएको, विषादी प्रयोग गरिएको खानेकुरा महंगो मूल्यमा किनेर खान जनता बाध्य छन् । यसले एकातिर खाद्यान्न किन्दा नेपालको पैसा विदेशिएको छ र व्यापार घाटा बढेको छ भने अर्कोतिर जनताले महंगो पैसा तिरेर समेत गुणस्तरीय खानेकुरा खान पाएका छैनन् ।
देशको खेतीयोग्य जमिन सबै घर, बाटो बनाउँदा वा प्लानिङ गर्दा सकिसक्यो । तर, अहिले पनि भूमि विभाग मासिक घरजग्गा कारोबार यति भयो भन्दै तंथ्याक सार्वजनिक गर्छ । छिमेकी मुलुकहरुले खाद्यान्न बेचेर महिनैपिच्छे खर्बो रकम लगेको तंथ्याक न सरकार सार्वजनिक गर्छ न त सम्बन्धित निकाय । तर, घरजग्गा कारोबार यति भयो भन्दै तंथ्याक सार्वजनिक गरिन्छ ।
सरकारकै कारण मुलुकको खेतीयोग्य जमिन त सकियो नै सँगै बैंक र सर्वसाधारण पनि डुब्ने अवस्थामा पुगेका छन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

4 + 18 =