✍️ उज्जल बिबस-

तिमीसगँ नोट छ
मसगँ भोट छ ।
हामी एक अर्कामा
तालमेल गरौं न हुन्न ?

तिमीलाई चुनाव जित्न
भोट झार्नु छ
मलाई जीवन जिउन,
रहर अनी भोक मार्नु छ
त्यसैले त विज्ञापन गरेको छु
मेरो एक भोट विक्रीमा छ ।

तिमी पार्टीको सिद्धान्तको कुरा नगर
म नैतिकताको कुरा छोड्छु
आज मैले परिवार धान्न
भोट बेचेँ
भोली तिमीले देशको अर्थतन्त्र
धान्न भन्दै देश बेच्छौं मलाई बाध्यता छ
तिमीलाई बहाना

तेसैले तिमी आदर्शको कुरा नगरिकन
भोट किन्न तर्फ लाग
मेरो एक भोट विक्रीमा छ

चुनाव प्रचारमा आउँदा
गाउँमा सिंहदरबार लिने सपना नदेखाउनु
जितेर रोजगार दिने सपना नदेखाउनु
म अचेल व्यावहारिक होइन
व्यापारीक हुँदै गएको छु

आफ्ना छाक टार्नको लागी
पैसा नै सबथोक हो भन्ने भएको छु
यदि तिमीले
भोटको मुल्य बढाएछौ भने
काका र दाईलाई पनी भोट दिनु भनुँला
राम्रा लाई जिताउनु पर्छ भन्दै
तैं चुप मै चुप बनुँला

तिमी किन चिन्ता गर्छौ
धितो राखिदेउ जग्गाको लालपुर्जा र घर
पछि जती पनी लुट्न पाउछौं धन
डबल भएर फिर्ता आउँछ
इज्जत र स्वाभिमान

म तिम्रो पार्टीको झण्डा बोक्छु
तिम्रै पक्षमा भाषण ठोक्छु
तिम्रै झोले कार्यकर्ता बन्छु
सबैलाई भोट दिन भन्छु

मेरो भोट किनिदेउ
मेरो एक भोट विक्रीमा छ ।
गरिबी घटाउने
तिम्रो चुनावको एजेन्डा होइन ?
परेवालाई चारो जसरी
पैसा छरिदेउ

युवायुवतीलाई पासपोर्ट
चालीस काटेकालाई रक्सी भरिदेउ

फेरी २०८४ साल आँउदैं छ
मान्छे चिन्न तर्फ लाग
भोट किन्न तर्फ लाग
मेरो पनी एक भोट विक्रीमा छ,।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

14 + 4 =