काठमाण्डौं । तारकेश्वर नगरपालिका धर्मस्थली काठमाण्डौंको आयोजनामा सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

आज मंगलबार जिल्ला सहकारी संघ लिमिटेड काठमाण्डौंको संयोजनमा आयोजित उक्त कार्यक्रम नगरपालिकाको उप – प्रमुख सृजना बुर्लाकोटीको प्रमुख अतिथ्यतामा साझा पार्टी प्यालेस जरंखुमा सम्पन्न भएको हो ।

सहकारी सुशासन प्रविधि र एकिकरण भन्ने नाराका साथ ६७ औं राष्ट्रिय सहकारी दिवस २०८० को अवसरमा अयोजित उक्त कार्यक्रमको सञ्चालन संघका सञ्चालक कविन्द्र रिमालले गर्नुभएको थियो भने कार्यक्रममा काठमाण्डौ  बचत तथा ऋण सहकारी संघका सञ्चालक पुष्कर सापकोटा, महासचिव निरञ्जन सेढाई, वरिष्ट उपाध्यक्ष अमरावती बलामी महर्जन, तारकेश्वर नगरपालिका सहकारी शाखा प्रमुख शाखा अधिकृत तिर्थराज थापामगर,   गाेविन्द गिरी, सहकारीकर्मि, सदस्यहरु र पत्रकारहरु लगायत ठुलो संख्यामा सर्वसाधरणको समेत उपस्थिति रहेको थियो ।

आम सहकारीप्रति विश्वासको वातावरण बनाउन, सहकारी भित्र सुशासन कायम राख्न, सहकारी भित्र रहेका कमिकमजोरी सच्याउदै बचतलाई सुरक्षित ठाउँमा लगानि गर्नु र बचतको सुरक्षा गर्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको कार्यक्रमका सञ्चालक रिमालले जानकारी दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै नगर उपप्रमुख बुर्लाकोटीले नगरपालिका तथा जिल्ला भित्र छरिएर रहेका सहकारीकर्मीहरु एकै ठाउँमा बसेर छलफल र सहकार्य गर्न, सदस्यहरुलाई सहकारीको उद्देश्य आवश्यकताको बारेमा जानकारी दिन, साथै सहकारीले सामाजिक, आर्थिक क्षेत्रमा पुर्याएको योगदान र सहकारी विकास क्रमले ल्याएको परिवर्तनको बारेमा आम समुदायलाई जानकारी गराउनको लागि यो दिवसले महत्वपुर्ण भुमिका खेलेको बताउनुभयो ।

तारकेश्वर नगरपालिकाको नियमन क्षेत्रभित्र हाल ८९ वटा सहकारी सस्थाहरु छन् जसमध्ये बचत तथा ऋण सहकारी सस्था ४९ वटा, कृषि सहकारी २३ वटा, दुग्ध सहकारी ४ वटा, बहुउदेश्यीय सहकारी १२ वटा, उद्यम सहकारी १  रहेका छन् । आ.व. २०७९/८० को विवरण अनुसार जम्मा सेयर पुँजी ९४ करोड ३२,९०,१७८, बचत संकलन २ अर्ब ०१,३३,१७,५२३, ऋण परिचालन २ अर्ब ४३,७४,९९,८७३, कुल सम्पति ३ अर्ब ०२,४६,८४,०४५, रोजगारी ३०५, आवद्य सदस्य संख्या १५१२२ जसमध्ये महिला १०६३८ त्यस्तै पुरुष ७०८७ रहेका छन् ।

नेपालमा वि.स. २०१३ चैत २० गते चितवनको बखानपुर ऋण सहकारी संस्थाको स्थापना भई सहकारी आन्दोलनको सुरुवात भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष चैत २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको छ । कार्यक्रमको सभापतित्व तारकेश्वर नगरपालिकाका प्रबक्ता तथा वडा नं -२ का अध्यक्ष राधा कृष्ण खड्कीले गर्नु भएको थियो।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

fourteen − 6 =