काठमाण्डौं । सिरहामा छोराको हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा सखुवानन्कारकट्टी गाउँपालिका–५ घर भई लहान नगरपालिका–१ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साह रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डिएसपी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।
सापकोटाका अनुसार गत मंगलबार बिहानदेखि सरिताकुमारीको ५ वर्षीय छोरा आयुश बेपत्ता भएका थिए । उनै सरिताकुमारीले छिमेकीसँग आफ्नो छोरो हराएको बताएकी थिइन् । छिमेकीहरूसमेत मिलेर खोज्दा आयुशलाई भेटिएनन् ।
त्यसपछि प्रहरीलाई उनैले छोरो हराएको भन्दै खोजी दिन आग्रह गरिन् । प्रहरीलाई सुरुमै सरिताकुमारीमाथि नै शंका लागेको थियो । सोही शंकाको आधारमा उनकै घरबाट प्रहरीले खोजी कार्य सुरू गरेको थियो । खोजी गर्दा सरिताकुमारी सुत्ने कोठामै खाटको घर्राभित्र आयुशलाई मृत भेटिएको हो ।
त्यसपछि प्रहरीले सरिताकुमारीलाई पक्राउ गरेको हो । बयानमा उनले छोराको हत्या गरेको स्वीकार गरीन् । कुमारीविरूद्ध कर्तव्य ज्यान मुद्दामा सिराहा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।