काठमाण्डौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त भएका छन् । जनमत पार्टीका सांसद सिंह नयाँ मुख्यमन्त्री नियुक्त भएका हुन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई शुक्रबार मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

सिके राउत नेतृत्वको जनमत पार्टी पहिलो पटक मधेस प्रदेशको नेतृत्वमा पुगेको हो । आफ्नो पक्षमा सरकार बनाउने सङ्ख्या पुगेपछि प्रदेशको नयाँ मुख्यमन्त्रीमा प्रदेश सभा सदस्य सिंहले आज दाबी पेस गरेका थिए । हिजो जनमत पार्टीलाई ठूला पार्टीहरूको समर्थन प्राप्त हुने निश्चित भएपछि उक्त पार्टीका सदस्य सिंहलाई मुख्यमन्त्रीमा अघि सारिएको हो ।

मधेसका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन नसकी पदमुक्त भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले शुक्रबार बिहान १० बजेसम्म सरकार बनाउन दाबी पेस गर्न समय दिएकी थिइन् ।

प्रदेश सरकारमा को को रहने भनेर रातभर नै दलका नेताहरूको विभिन्न चरणमा छलफल भएको थियो । सरकारमा भागबण्डा मिल्ने अवस्था बनिसकेकाले आज प्रदेश सभा सदस्य सिंहले प्रदेश प्रमुख समक्ष सरकार बनाउने सङ्ख्या प्रस्तुत गर्दै दाबी पेस गरेका हुन् ।

Submit a Comment

Your email address will not be published. Required fields are marked *

three × two =