काठमाण्डौं । विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आइडिए) २१ बैठक नेपालमा हुँदैछ । नेपालमा हुन लागेको यो विश्व बैंकको हालसम्मकै ठूलो कार्यक्रम हो । यसै कार्यक्रमको लागि विश्व बैंकका अध्यक्ष अजय बंगा नेपाल आउन लागेका छन् ।
आगामी ४ देखि ७ असारसम्म काठमाडौँमा हुने बैठकको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्नेछन् । आइडिएको २१औं बैठक आयोजना गर्न विभिन्न देशले प्रस्ताव पेश गरेका थिए । अन्तिममा ताजिकिस्तान र नेपालमध्येबाट विश्व बैंक सञ्चालक समितिले बैठकका लागि नेपाल रोजेको हो । नेपालले ६ वर्षअघि आइडिए–१९ बैठक काठमाडौँमा गर्न डिसीस्थित विश्वबैंक मुख्यालयलाई पत्राचार गर्नुका साथै अनौपचारिक रुपमा लविङ गरेको थियो ।
उदघाटन, बन्दसत्र र समापन गरी तीन सत्रमा कार्यक्रम हुनेछ। समापन सत्रको प्रमुख अतिथि अर्थमन्त्री पुन छन् । अर्थमन्त्रालयले बैठक व्यवस्थापनका लागि सचिव मधुकुमार मरासिनीको नेतृत्वमा आयोजक समिति र मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सह–सचिव श्रीकृष्ण नेपालको संयोजकत्वमा व्यवस्थापन तथा समन्वय समिति गठन गरेका छन्।
विकास साझेदारहरूको अन्तर्राष्ट्रिय गठबन्धनको भूमिकामा रहेको आइडिए बैठकमा सहभागी हुन विश्व बैंकका अध्यक्ष अजय बंगा, बैंकको दोश्रो वरियताका विकास नीति र साझेदारी विभाग हेर्ने वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भ्यान ट्रोट्सनबर्ग, ९ उपाध्यक्ष र पाँच डाइरेक्टर वासिङटनबाट नेपाल आउँदैछन् ।
यस्तै विश्व बैंकका लागि दाता रहेका करिब ६० र साझेदार ९० भन्दा बढी देशका ३ सय बढी प्रतिनिधि बैठकमा सहभागी हुने सह–सचिव नेपालले जानकारी दिए । सन् १९६० मा स्थापना भएको आइडिए विश्व बैंकको सहुलियतपूर्ण ऋण र अनुदानका अतिरिक्त आर्थिक विकासमा पछि परेका मुलुकहरुका लागि बहुपक्षीय सहायता प्रदान गर्ने निकाय हो।
विश्व बैंकले संखुवासभामा निर्माण हुने १ हजार ६३ मेगावाटको अर्धजलासययुक्त माथिल्लो अरुण जलविद्युत आयोजना र ६ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनामा लगानी गर्दैछ । आइडिएको बैठक हरेक तीन वर्षमा हुने गरेको छ ।हरेक तीन वर्षमा हुने आइडिएको २०औँ बैठक सन् २०२१ को डिसेम्बर १४ र १५ मा जापानले आयोजना गरेको थियो ।
बैठकपछि अध्यक्ष बंगासहित उच्च अधिकारीहरू काठमाडौँ उपत्यका आसपास विश्व बैंकसहित विकास साझेदारका लगानीमा निर्माणाधीन विभिन्न ९ आयोजनाको स्थलगत निरीक्षणमा जाने तयारी छ ।